कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट्न आएका आफ्नै पार्टीका पाका कार्यकर्तालाई मध्यरात कोठाबाट निकालि दिएका छन् । डोल्पा स्थायी घर भएका लोकबहादुर चलाउनेलाई शाहीले राति साढे १० बजे मलाई भेट्न कहिल्यै नआउनु भन्दै झपारेर निकालेका हुन् ।
चलाउने २०५१ सालबाटै माओवादी पार्टीमा पूर्णकालिन भएका थिए । लामो समयसम्म जेल जीवन हुँदै पार्टीमा क्रियासिल लोकबहादुर माओवादी केन्द्रका एक प्रतिवद्ध कार्यकर्ता हुन् । उनी सुर्खेत जेल ब्रेकका कमाण्डरमध्येका एक हुन् । चलाउने आफ्ना केही व्यक्तिगत समस्या लिएर शाहीलाई भेट्न सुर्खेत पुगेका थिए ।
सुरुमा चिन्दिन भनेको र पछि कहिल्यै भेट्न नआउनु भन्दै गइहाल्न भनेपछि मध्यरात मुख्यमन्त्री शाहीको क्वाटरबाट निस्केको चलाउनेले गुनासो गरे ।
सिंहदरबारको दक्षिण गेटमा भित्र प्रवेश गर्ने पास कुरिरहेका चलाउनेले अनलाइन डबलीसँगको विस्तृत कुरा गरेका छन् । प्रस्तुत छ कुराकानीका मुख्य अंशः
तपाईँको घर कहाँ हो ?
मेरो घर डोल्पाको त्रिपुरा सुन्दुरी नगरपालिका वडा नम्बर ६ हो ।
कहिलेदेखि पार्टीमा लाग्नु भएको हो ?
म जनयुद्धको पूर्व तयारी २०५१ सालबाटै पार्टीको पूर्णकालिन भएर लागेको हुँ । अहिलेसम्म पार्टीमै छु । केही समय जेल बसे ।
जेल कहिले पर्नुभयो ?
पार्टीको कामको क्रममा २०५४ चैत्र ३१ गते जाजरकोट हुँदै डोल्पा जाँदै गर्दा रुकुमबाट गिरफ्तारीमा परें । तीन वर्ष जाजरकोट हिरासत बसेँ । २०५७ पुस १३ गते मुद्दा जितेपछि रिहाई लगत्तै फेरि अर्को मुद्दा लगाएर प्रहरीले डोल्पा पठायो । डोल्पामा ४५ दिन हिरासत राखेपछि प्रहरीले २०५७ फागुन १ गते सुर्खेत कारागार पठायो । पछि सुर्खेत जेल ब्रेक गरेर निस्कियौं ।
जेल ब्रेक गरेको भन्नुभयो, त्यो क्षण कस्तो थियो ?
त्यति बेलाका कुरा गरेपछि अहिले विश्वास गर्दैनन् । कति संघर्ष गरेर नस्कियौं त्यो नेताहरुले समेत विश्वास गर्न छोडे । जेलभित्र धेरै साथीहरु थियौँ । जेललाई पनि एउटा युद्धको मोर्चाको रुपमा लिएका थियौँ । तर, भित्र बस्नुभन्दा बाहिर निस्केर पार्टी र आन्दोलनलाई फाइदा हुने भएकोले सबै साथीहरुले जेल ब्रेक गरेर जनयुद्धमा सहभागी हुने अठोटका साथ सुरुङ खन्यौँ । २०५८ माघ २ गते ३० जना साथीहरु सँगै निस्कियौँ । खुला संसारमा निस्केर पार्टीको सम्पर्कमा पुग्दा निकै खुशीको महशुस भएको थियो ।
त्यसपछि के गर्नुभयो ?
बाहिर निस्केको चार दिनपछि जाजरकोटको थालामा पार्टीसँग सम्पर्क भयो । फेरि जनयुद्धमा सक्रिय भएर लागेँ । पार्टीको आवश्यकताअनुसार डोल्पामै गएँ । जिल्ला सदस्यहुँदै राज्य समिति सदस्य भएर विभिन्न जिम्मेवारी पूरा गरेँ । शान्ति प्रक्रियापछि नेताहरु शहरतिर लागे तर हामीले जिल्ला छोडेनौं ।
काठमाडौँ किन आउनु भएको हो ?
म विरामी पनि छु । जेलमा पाएको यातनाले अहिले सताइरहेको छ । त्योसँगै म अहिले एक्लै छु । तीनओटा छोरी थिइन् सबैले विवाह गरिसकेका छन् । श्रीमती पनि बिति सकिन् । मेरो साहरा कोही छैन । मैले घरजग्गा सबै पार्टीकरण गरेको थिएँ । अहिले मलाई बस्ने खाने समस्या भयो । नेताहरुले केही व्यवस्था गर्दिन्छन् कि भनेर आएको हुँ ।
कुन नेतासँग भेट्नु भयो ?
भेट्न त प्रचण्डसँगै भेट्न भनेर आएको हुँ । पहिलो कुरा त नेतालाई भेट्नै गारो । भेटेपछि कुरा नसुन्ने रहेछन् । पार्टी कार्यालयमा जाजरकोटका सांसद कालिबहादुर मल्लको सहयोगमा बादल कमरेडसँग भेट भयो । उहाँले उतै प्रदेशमा कुरा गरिदिएिको छु उतै जानुस् भन्नुभयो । कोसँग भेट्न भनेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्ने भन्नुभयो । फागुन ४ गते म सरासर सुर्खेत गएँ । मुख्यमन्त्री शाहीलाई ६ गते भेट्न गएँ । दिनभरी कुराउनु भयो । राति १० बजे भेट भयो ।
के भन्नुभयो मुख्यमन्त्रीले ?
के भन्नु नी । मैले आफ्नो परिचय दिएँ, समस्या राख्दै गर्दा तपाईँ काँग्रेस–एमालेको की, को हो म चिन्दिन भन्नुभयो । मैले बादल र मल्लले पठाएको भनेपछि मुख्यमन्त्री कमरेडले मल्ल कमरेडलाई तुरुन्त फोन गर्नुभयो । सायद मेरै विषयमा हुनुपर्छ, फोनमै झगडा भयो । त्यतिबेला रातको साढे १० बजेको थियो । अबदेखि मलाई भेट्न नआउनु भन्दै झपारेर जानुस् भन्नुभयो ।
त्यसपछि …?
रुँन मन लाग्यो । म ६४ वर्षको बुढो त्यसमा पनि विरामी, राति जान भनेपछि मलाई निकै दुःख लाग्यो । बाहिर हेर्छु मध्यरात, बसौं भने जान भनिसकेको छ, वरपर हेरेँ भव्य र सुविधा सम्पन्न घरमा बस्नु भएको रहेछ । मलाई एक रात ठाउँ नहुने त थिएन नै । तर, जान भनिसकेको कारण निस्कनुको मसँग विकल्प नै थिएन । तर बाहिर कता जाने, के गर्ने ? मसँग जवाफ थिएन । आफैले बनाएको नेताले त्यसो भनिसके, बस्नुभन्दा सडकमा बसौंला भनेर म निस्किएँ ।
उहाँसँग बस्ने अरु साथीहरु पनि कति निष्ठुरी हुन् । राति भइसकेको छ, यतै बस्नुहोस् समेत कसैले भनेनन् । खुला आकाशमुनी भोकै रात बिताए । जनमुक्ति सेनाको कमाण्डर भएकोले कार्यकर्ताको दुःख बुझेका होलान् सोँचेको थिए तर मेरो बुझाइ गलत रहेछ । उहाँसँग मुख्यमन्त्री गुण रहेनछ । पार्टीले के हेरेर बनायो होला ? यही प्रश्नले मलाई रातभरी सतायो ।
त्यसपछि के गर्नुभयो ?
भोलीपल्ट आफ्नो दुःख कसैलाई सुनाईन । फेरि काठमाडौँ आएँ । हो, मेरो कोही छैन । जे भएपनि यही पार्टी हो, यिनै नेता हुन् । प्रचण्डसँग भेट भइहाल्छ की भनेर फेरि काठमाडौँ आएँ ।
भयो त भेट ?
प्रचण्डसँग त कहाँ भेट हुनु । डोल्पाको सांसद सत्या पहाडीसँग भेट भयो । उहाँले उपचारको लागि केही पहल गरौंला भन्नु भएको छ । उहाँ जिल्लाकै नेता हो । हेरौं, केही गर्नुहन्छ की ? एकले अर्कालाई देखाउँदै उम्किने तरिका जस्तो लाग्यो नेताहरुको । अरुको कतै जाने ठाउँ होला तर मेरो त सबै पार्टी नै हो ।
बिरामी पनि भन्नुभएको थियो, के समस्या छ ?
त्यही जेल बसेको बेला दिएको यातना होला । नसाको समस्या छ, ढाड पनि निकै दुख्छ । पूरै शरीर कतिखेर चल्नै छोड्छ ।
कतै जाँच गरानुभयो ?
साँझ विहान खाने कुरा छैन । कसरी जाँच गराउनु । गराएको छैन । त्यसैको लागि प्रचण्डलाई भेट्न आएको हुँ ।