काठमाडौं, ८ चैत ।
प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताए ।
देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक बिकासमा टेवा पुुर्याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताए ।
प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताए ।
उनले ठालू भएर अरुलाई काम लगाउने प्रबृतिको अन्त्य गर्दै युवा दस्तालाई श्रम तर्फ अकार्षण गर्ने गरी रोजगारीको श्रृजना गर्दै बिकासका लागि युवा दस्ता निमार्ण गर्न थालेको बताए ।
प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा समेत बिभिन्न खालका समस्या देखिएको उनले बताए ।
कर्णाली प्रदशेलाई अर्गानिका प्रदेशका रुपमा बिकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उनले बताए ।
उनले सामाजिक सञ्जालले बिकासका गतिबिधि भन्दा पनि बिकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने बताए । फेसबुक, ट्वीटर बिकासको बाधक बनेकोतर्फ इंगित गर्दै उनले सामाजिक संजालको धेरै प्रयोग नगर्न चेतावनी दिए ।
प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी बर्षलाई पर्यटन बर्षका रुपमा अगाडी बढाउँदै यस क्षेत्रमा रहेका अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको बताए ।