काठमाडौं, ४ चैत ।
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो ।
उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् ।
राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सदस्य छन् ।
शशीकला दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उनी राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।