गृहमन्त्री बादलले नै यस्तो काम गरेपछि मन्त्रालयका कर्मचारी छक्क, रेशम चौधरी मख्ख !

काठमाडौं, ३ चैत ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल एकाएक वीर अस्पताल पुगे । गृहमन्त्रीको अगामनले अस्पताल परिसर एकछिन नियमित अवस्थामा भन्दा केहि फरक देखियो । मन्त्री आफु बिरामी भएर र या कसैको उपचार गर्न वीर पुगेका भने पटक्कै होइनन् । मन्त्री थापा वीर पुग्दा मन्त्रालयका कर्मचारी छक्क थिए भने रेशम चौधरी मख्ख !

वीर अस्पतालमा गृहमन्त्री बादलले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीलाई जुस पिलाएर अनशन तोडाए । चौधरीले शुक्रबार  १८ दिनपछि मन्त्री थापाको हातबाट जुस पिएर अनशन तोडेका छन् । 

थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।

अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।

चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपनेर्न, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

चाैधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए ।

Loading...