काठमाडौं । सुन्दा पनि पत्यार नलाग्ने । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती । बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो होइन ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जेलमा रहेका आफ्नै पति बीर्यबाट पत्नीले गर्भधारण गर्ने गरेका छन् । इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ ।
४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् । लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवत रुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नु पर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ ।
चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन्। तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ ।
लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ। जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन। परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन् । उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने जस्ता समस्या देखिन थालेको छ ।