पर्खाल नाघेर आर्मी अफिसरको घरमा छिरेर लुकेर बस्ने महिला पक्राउ

काठमाडौं, २७ कार्तिक । घरको पर्खाल नाघेर एक आर्मी अफिसरको घरमा लुकेर बस्ने नेपाली महिला भारतमा पक्राउ परेकी छन् । भारतीय सेनाका अफिसरको घरमा ती महिला गैरकानुनी रुपमा बसेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र ती महिलालाई प्रहरीले भेटाएको थियो । २६ वर्षीया महिला नेपालको नवलपरासी जिल्लाकी भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको भन्दै यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर प्रवेश गरेको बयान दिएकी छन् । तर उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताउन नचाहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

त्यस अगाडि ती आर्मी अफिसर र महिलाको बिचमा बाहिर भेट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो ।

Loading...