प्रहरीमाथि गोली चलाउने चार सार्वजनिक

वीरगञ्ज । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

प्रहरीमाथि गोली चलाउने पर्साको ठोरी गाउँपालिका ४ निवासी ३५ वर्षका कुमार लामा, वर्ष ३८ को सुन बहादुर लामा, वर्ष ३६ को बाबुराम लामा र वर्ष २७ का अमन लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

अवैध सामान तस्करी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीमाथि चारैजनाले ठोरी गाउँपालिका ४ ओरिया खोलामा गोली चलाएका थिए। प्रहरीले पनि दुई राउण्ड फायर गरी चारैजनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरुको साथबाट प्रहरीले भरुवा बन्दुक एक नाल , त्यसमा प्रयोग हुने छर्रा ४ राउण्ड, वारुद एक सय ग्राम, खुकुरी १ थान बरामद गरेको थियो।

पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मार्ने उद्योग र हात हतियार खरखजाना शीर्षकमा मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गराइ कारबाही प्रकिया अघि बढाइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

Loading...