आफ्नै पिताको हत्यासँग जोडिएको नारायणहिटी

काठमाडौं । नारायणहिटी हत्याकाण्ड भन्ने बित्तिकै धेरैले २०५८ जेठ १९ गते तत्कालीन राजा बिरेन्द्रको परिवार नै सखाप हुने गरी भएको घटना सम्झन्छन् । लामो समयसम्म राजाहरुको शासन प्रशासन चलेको नारायणहिटी अहिले दरवार होइन, एउटा संग्राहलय भएको छ । तर, नारायणहिटी भन्ने बित्तिकै धेरैको दिमागमा उही राजा बिरेन्द्रको वंश हत्या भन्ने दिमागमा आउँछ ।

तर, नारायणहिटीमा राजा काटिएको पहिलो घटना भने २०५८ जेठ १९को घटना पहिलो होइन । यही सिंहदरवारमा धेरै सय वर्ष पहिले पनि एक राजा काटिएका थिए । उनी पनि अत्यन्तै सुरा र चर्चित राजा थिए । त्यतिबेला ती राजालाई काटेर हत्या गर्ने उनकै छोरा अर्थात राजकुमार थिए । ती राजकुमार पनि पीतालाई हत्या गरेर राजा भए र नेपालको इतिहासमा अत्यन्तै चर्चा पनि कमाए ।

नारायणहिटीमा रगतको काण्ड गराउने त्यो घटना लिच्छिवीकालमै हो । तत्कालीन राजकुमार मानदेव प्रथमले आफ्नै पिता धर्मदेवको हत्या यही नारायणहिटीमा गरेका थिए ।

शक् संवत् ३८६ देखि ४२७ सम्म राजगद्दी सम्हालेका मानदेव प्रथमले आफना पिता धर्मदेवको हत्या जानेर वा कुनै दुश्मनी गरेर होइन अन्जानमा गरेका हुन् भनिन्छ । केही केही इतिहासकारले यसमा आफ्नो फरक मत पनि राखेका छन् ।

नेल वंशावली अनुसार त्यतिबेला देशमा खडेरी परि उपत्यकामा सम्पूर्ण ढुंगेधारा नदी, पोखरी सुक्दा जनता आकुल व्याकुल भइ निकै हाहाकार मच्चिएको थियो । खडेरीले हाहाकार भएपछि अनेकौ उपाय अपनाइयो । तर, लामो समयसम्म खडेरी परेर निकै असर पारेपछि त्यसबारे राजा धर्मदेवले यसको निराकरण कसरी गर्ने भनेर ज्योतिषीलाइ देखाए । राजाले देखाएका ती ज्योतिषले राज्यमा ३२ लक्षिणयुक्त व्यक्तिलाई मानव बलि दिएपछि खडेरी अन्त्य हुने सल्लाह दिएछन।

ज्योतिषीको उक्त सल्लाहलाई शिरोपर गरेर राजा धर्मदेवले त्यस्ता व्यक्ति को हुन सक्छन भनेर यत्रतत्र सर्वत्र खोज्न लगाए । आफैले पनि निकै खोजी गरे । तर, उनले अन्ततः त्यस्तो ३२ लक्षणले युक्त अरु कोही पनि मान्छे देखेनन् । साथै उनले त्यस्तो ३२ लक्षणले युक्त व्यक्ति आफू मात्र छु अरु छैनन भन्ने बोध भयो । त्यसपछि उनले निकै दिनसम्म यसबारे सोच विचार गरे । अन्ततः उनले देशको रक्षार्थ आफ्नै बलि दिने निधो गरे । उनले मनमनै गरेको उक्त निधोअनुसार कामको सेटिङ मिलाए ।

त्यही क्रममा एकदिन राजा धर्मदेवले आफ्ना पुत्र राजकुमार मानदेवलाई बोलाए । उनले पुत्र मानदेवलाई “भोलि बिहान काग कराउनु अगावै नारायणहिटीको ढुंगेधारा नजिक एउटा सेतो कपडामा ढाकिएको बस्तु हुनेछ । त्यसलाई बिहानको पूरा उज्यालो नहुँदै तरवारले दुई टुक्रा पारिदिनु भन्ने सल्लाह दिए । त्यसो गरिएमा देशमा छाएको खडेरी अन्त्य हुने उनले बताए । पीता धर्मदेवको उक्त आदेश पालना गर्न मानदेव राजी भए । तर, उनलाई अरु केही पनि थाहा थिएन ।

राजाको आदेश वमोजिम पुत्र मानदेव झिसमिसे उज्यालो नहुँदै ढुंगेधारा तिर गए । नभन्दै उनले एउटा सेतो वस्तु बाटोमा पल्टिरहेको देखे । त्यसपछि उनको मन चिसो भयो । तर, पीताको आदेश सम्झिए । पीताको आदेश वमोजिम उनले तरवार झिके र नजिक गएर सारा बल संकलन गरी दुई टुक्रा पारे । जब उनले तरबार प्रहार गरे, त्यसपछि उनी झस्किए । त्यहाँ त रगत बग्न थाल्यो । कपडा हटाएर हेर्दा उनले देखे कि उनले त्यसरी दुई टुक्रा पारेर काटेको अरु कोही नभएर आफ्नै पीता धर्मदेव थिए ।

त्यसपछि मात्र उनले थाहा पाए कि आफूबाट आफ्नै पिताको हत्या भएको छ । त्यसरी पीताको हत्या गरेपछि राजकुमार मानदेव प्रथम पाप मोचानार्थ बौधदेवी बज्रयोगिनीको ध्यान गर्न साँखु पुगे । तिनै देवीको आज्ञा मुताविक कश्यपबुद्धको अस्थि राखी उनले बौद्धनाथ स्तुपा बनाएको बताइन्छ। पिता हत्याको पाप मोचनार्थ बौद्धनाथ स्तुपा त बनाएको बताइन्छ ।

नारायणहिटी भित्र रहेको त्यो धारा अहिले पनि छ । तर, त्यस धारामा रहेको ब्रम्हदण्डको स्वरूप उल्टो फर्किएको बताइन्छ । तर नारायणहिटी धाराले पापीको अनुहार नहेर्ने भन्ने भएपछि त्यस धारामा राखिएको ब्रम्म्हदण्ड उल्टो पारेर गाडेर प्रयोगमा ल्याइएको कथन छ ।

पछि नारायणहिटीमा धेरै दरवार बने, धेरै भत्किए । अहिले भएका दरवार वीर शम्सेरले राजा पृथ्वीवीरबिक्रम शाहदेवको जन्मोत्सवमा उपहार प्रदान गरेको बताइन्छ । ने स ९६७ मा जंगबहादुर राणाका भाई रणोंद्विपका लागि बनेको नारायणहिटी दरवार हाल संग्रालयका रुपमा रहेको छ।

 

 

नेपाल मंडल सम्पदा बाट 

Loading...