सिहदरवार आगलागी बाट ध्वस्त भएको त्यो इतिहास

चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्‍यो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए।

राती त्यस्तै १० बजेको हुँदो हो। एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको मलाई बताइयो। म बालुवाटारबाट मोटर टिपेर हिँडिहालेँ। तत्कालीन नाचघर अर्थात् राष्ट्रिय पञ्चायत भवनमा पुगेर आगलागीको त्यो दृश्य हेररिहँदा मेरा आँखा थामिएनन्। सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो। आफूले केही गर्न नसके पनि त्यहाँ उपस्थित भएर आगलागीलाई काबुमा ल्याउन खटिरहेका तत्कालीन शाही नेपाली सेनालाई हौसला र प्रोत्साहन दिनु मेरो जिम्मेवारी र कर्तव्य थियो। बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए। नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो।

प्रतिकूल मौसम र अन्य कुनै जोखिम नदेखिएको त्यस्तो ठाउँमा एकाएक कसरी आगलागी भयो भन्ने कुराले मलाई पनि ज्यादै चिन्तित तुल्यायो। त्यो एउटा विपत्ति थियो, टार्न नसकिने। कतिपय परराष्ट्र मन्त्रालयसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कागजपत्र भएकाले साजिस रचेर आगलागी गराइएको आरोप पनि लगाउँछन्। अर्काथरी, कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट निकाल्न त्यस्तो षड्यन्त्र रचिएको पनि भन्छन्। त्यस्ता कुरामा मलाई रत्तिभर विश्वास छैन। कुनै सत्यता पनि देख्दिनँ।

रातभरि त्यहाँ बसेर बिहान बालुवाटार फर्किरहँदा मेरो हालत युद्धमा सबै कुरा हारेर लुरुलुरु घर फर्किएको सिपाहीको जस्तो भएको थियो। बालुवाटार पुगेपछि राजा वीरेन्द्रलाई भेटेर नैतिकताको आधार दर्साउँदै आफ्नो राजीनामा पत्र बुझाएँ। तर, राजा वीरेन्द्रले राजीनामाको त्यो पत्र मलाई नै फर्काउँदै भने, “सिंहदरबारमा तिमीले आगो लगाएको होइन, तिमीले किन राजीनामा दिने ? राजीनामा पत्र आफ्नै खल्तीमा राख। मलाई सघाऊ। बस। राजीनामा दिने कुरा नगर।”

मेरो आत्माले त्यो कुरा मान्दै मानेन। मैले राजासामु ज्यादै विनम्रतापूर्वक भनेँ, “म प्रधानमन्त्री छु। मेरो जिम्मामा भएको राष्ट्रिय सम्पत्ति खरानी भयो। अब एक मिनेट पनि यस पदमा बस्न मेरो मनले दिएन।” राजासँग विवाद नै पर्‍यो। मैले एकोहोरो जिद्दी गरेरै राजीनामा दिएँ। मेरो राजीनामालगत्तै नेपालस्थित तत्कालीन भारतीय राजदूत एलपी सिंहले बालुवाटारमै आएर मलाई भनेका थिए, “त्यति नै घटनाका आधारमा तपाईंले किन राजीनामा दिनुभयो ? राजीनामा नै दिनुपर्ने त जरुरी थिएन।” मैले यसको जवाफ फर्काउनु उचित ठानिनँ। मात्र यति सोधेँ, “एउटा सामान्य रेलवे दुर्घटना हुँदा लालबहादुर शास्त्रीले किन प्रधानमन्त्रीको पदबाट राजीनामा दिए ? मलाई यसको जवाफ दिनूस् त ?” उनी नाजवाफ भए।

त्यस बेलाको मेरो राजीनामालाई कतिपय अभूतपूर्व ऐतिहासिक घटनाका रूपमा चित्रित गर्छन्। त्यो त आफ्नो कर्तव्यप्रति सावधानी र जिम्मेवारीबोध गराउने खुड्किलो मात्र थियो। मैले त्यस घटनालाई त्यसरी नै बुझेको छु। पदमा पुगेपछि आनन्द लिऔँ, बसिराखौँ भन्ने सोच राख्नु उचित ठान्दिनँ। जिम्मेवारी लिएपछि त्यो पूरा पनि गर्नुपर्छ। एउटा मान्यता स्थापित गर्न पनि त्यसो गर्नु जरुरी थियो।

मैले त्यसरी नैतिकताको प्रश्न तेस्र्याएर राजीनामा दिनुको अर्थ एउटा मान्यता र परम्परा बसोस् भन्ने पनि हो। सार्वजनिक पद भनेको व्यक्तिगत प्रयोजनका निम्ति होइन भन्ने मेरो सुरुदेखिकै मान्यता हो। मुलुकका लागि केही गरौँ भन्ने भावनाले मात्र सरकारको जिम्मेवारी सम्हालेको थिएँ। ममा कुनै सत्तालिप्सा थिएन।

नैतिकताका आधारमा मैले राजीनामा गरेँ भनेर फुर्ती लगाउने कुरा होइन। तर, इतिहासले प्रमाणित गर्छ, कसले कति भ्रष्टाचार गरे र बेइमानी गरे ? कसको बेलामा के के भयो ? कसको पालामा राष्ट्रको ढुकुटी सिध्याउने काम भयो ? यो जान्नु जनताको सरोकारको कुरा हो। नेपाली जनताले अवश्य पनि हिसाबकिताब राखेका छन्। मुलुकमा केही नभएको अवस्थामा भएको त्यही एउटा सिंहदरबार पनि आगलागीमा परेर ध्वस्त भयो। प्रजातन्त्रमा निश्चित मूल्य, मान्यता र पद्धतिहरू हुन्छन्। मैले त्यसैको पालना गरेको हुँ। त्यसमा मलाई गर्व छ। 

 

 

https://nepalmag.com. बाट इश्वरी ज्ञवालीले लेख्नु भएको 

Loading...