यि हुन् लकडाउनमा पनि सक्रिय उत्कृष्ट १० सामुदायिक विद्यालयहरू

काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु हुन सकेको छैन । सरकारले वैकल्पिक माध्यमबाट शिक्षणसिकाइलाई अगाडि बढाउन निर्देशिका जारी गर्दै त्यसको तयारीमा लागेको अवस्था छ ।

अहिलेको लकडाउनको अवस्थामा मुलुकका उत्कृष्ट भनिएका सामुदायिक एवं सरकारी विद्यालयहरु के गर्दै छन् ? यस महामारी र यसपछिको अवस्थामा शिक्षणसिकाइ गर्ने यि विद्यालयहरुको योजना के छ ? यस विषयमा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालले मुलुकका उत्कृष्ट भनिएका १० विद्यालयबिच अन्तक्रिर्या गराएर उनीहरुको अवस्था, योजना र तयारीका विषयमा जान्न खोजेको छ ।

समाजका अध्यक्ष भिमप्रसाद पोखरेलले उत्कृष्ट भनिएका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि भइरहेका राम्रा अभ्यास, शैक्षिक अवस्था र कोभिड–१९ को महामारी पछि विद्यार्थी टिकाइराख्न गरिएको प्रयत्न तथा त्यसपछिका योजनाका विषय सबैलाई जानकारी होस् र प्रेरणा मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बताए । यसपटक मुलुकका उत्कृष्ट १० विद्यालय समेटिएको र बाँकी विद्यालयलाई आगामी कार्यक्रममा समेट्दै जाने उनले जानकारी दिए ।

उत्कृष्ट सामुदायिक विद्यालयहरुको अभ्यास र योजना हेराैं

शत्यनारायण मावि विराटनगर

शत्यनारायण मावि विराटनगर–७, मोरङ प्रअ धर्मानन्द खरेलले कोभिड–१९ को कारण सिर्जित असहज अवस्थामा विद्यालय नियमित सञ्चालन गर्न नसकिए पनि रेडियो, टेलिभिजन र युट्युवबाट अनलाइन कक्षामार्फत् शिक्षण सिकाइलाई निरन्तरता दिइरहेको जानकारी दिए ।

विद्यालयले अनलाइनमार्फत् फेस टु फेस छलफलमा आधारित शिक्षण सिकाइ गर्दै आउको साथै लकडाउनको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुलाई अनलाइनमार्फत् मनोसामाजिक परामर्शकोको कार्यक्रमसमेत सञ्चालन गरेको उनले जानकारी दिए ।

दूरशिक्षालाई थप व्यवस्थित गर्न सूचनाप्रविधि सामग्री खरिद गरिएको, शिक्षकहरुलाई सूचनाप्रविधिमैत्री तालिम सञ्चालन गरिएको साथै, अनलाइन, रेडियो, टेलिभिजनको पहुँचमा नभएका विद्यार्थीका लागि सिकाइ सहजीकरण मिलाउन स्थानीय तहसँगछलफल चलिरहेको प्रअ खरेलले जानकारी दिए ।

बुढानिलकण्ठ स्कूल

बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्यले कोरोनाको असरलाई अवसरमा बदल्दै केही नयाँ अभ्यासहरुको थालनी गरेको बताए । लकडाउनलाई शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री हुने अवसरको रुपमा लिँदै विभिन्न क्रियाकलाप सञ्चालन गरिएको उनले जानकारी दिए ।

स्कूलले बैशाख पहिलो हप्तादेखिनै अनलाइन कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । अनलाइनकक्षामा शुरुमै दुईतिहाइ विद्यार्थी सहभागी भएका, र सहभागी नभएका विद्यार्थीका अभिभावकसँग छलफल गर्दा इन्टरनेटको पहुँच नभएको थाहा पाएपछि नेपाल टेलिकमसँग सहकार्य र अनुरोध गरी छुट्टै सस्तो ई शिक्षा डाटा प्याकेज तयार गरिदियो– आचार्यले भने, यसमा १५ जिविको डाटा मात्र पाँचसयमा किन्न पाइन्छ र एक महिना अनलिमिटेड चलाउन पुग्छ ।

अभिभावकसंघको सहयोगमा उक्त प्याकेज किनेर दूरदराजका विद्यार्थीलाई उपलब्ध गराएर अनलाइन शिक्षासँग जोडेको प्रिन्सिपल आचार्यले सुनाए । हाल शत्रप्रतिशत विद्यार्थीको सहभागिताका साथ स्कूलले अनलाइन शिक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

लकडाउनमा पनि सक्रिय बनेका सामुदायिक विद्यालय

हाल गुगलमीट, जुमलगायतबाट पनि अनलाइन कक्षा भइरहेका छन् तर, स्कूलले सबै प्रयोग गरी अन्तिममा माइक्रोसफ्ट टिम टुल्सको छनोट र प्रयोग मार्फत कक्षा सञ्चालन गर्दैं आएको उनले जानकारी दिए । यो कक्षाकोठा शिक्षणमैत्री, असाइनमेट दिन र हेर्न मिल्ने, मार्किङ र फिडब्याक लिन दिन सबै सुविधा यसैमा रहेको उनले जानकारी दिए ।

यो समयलाई अलिक सिर्जनात्मक बनाउन संसारमा अभ्यास भएका राम्रा शैक्षिक विधि सिक्ने, लर्नर सेन्टर स्थापना, विद्यार्थीलाई लेख लेख्न सिर्जनात्मक गतिविधिमा प्रोत्साहित गर्ने आदि काममा भएको उनले जानकारी दिए । विद्यार्थीमा सकारात्मक सोच जार्गत गर्न अनलाइनमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । अडियो भिजिवल कक्षाहरु रेकर्ड गरी युट्युवमा राख्ने, अनलाइनमार्फत् परियोजना कार्य, परीक्षा लिने, विद्यार्थीको फिडब्याक लिएर सिकाइ गर्ने गरिएको उनले जानकारी दिए । विहान अनलाइनमार्फत् योगा कक्षा, अनलाइन शिक्षक तालिम, अनुभव आदानप्रदान, प्रविधि र प्रकृतिलाइ जोड्दै सिकाइ गर्ने गरिएको छ । विद्यार्थीका आर्टिकलहरु विभिन्न अनलाइन पोर्टलमा प्रकाशित भएका छन् ।

विश्वका उत्कृष्ट गेष्ट लेक्टरको व्यवस्था, करिअर काउन्सिलिङका लागि मेन्टरिङ, अनलाइन कक्षाका लागि स्कूलले हरेक शिक्षकका लागि शिक्षकहरुका लागि निशुल्क ल्यापटप र इन्टरनेटको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए । स्कूललाई नै भर्चुअल स्कूलको रुपमा विकास गर्दै लगिएको उनले जानकारी दिए ।

जनता मावि तानेसेन

जनता मावि तानेसेन–३, पाल्पाका प्रअ गणेश ज्ञवालीले पनि विद्यालयले लकडाउनको समयमा पनि रेडियो र टेलिभिजनमार्फत् भर्चुअल कक्षा सञ्चालन गरी सिकाइलाई निरन्तरता दिइरहेको बताउँछन् । विद्यार्थीलाई परियोजना कार्य दिएर सिक्ने वातावरण सिर्जना गरेको तथा अभिभावकहरुलाईसमेत अनलाइनमार्फत् मनोसामाजिक परामर्श दिइएको उनले जानकारी दिए । फेसबुक म्यासेन्जरबाटसमेत विद्यार्थीसँग शिक्षकहरु निरन्तर सम्पर्कमा रहेको, गृहकार्य दिने, प्रश्न र जिज्ञासा मेटाउने काम भइरहेको प्रअ ज्ञवालीले जानकारी दिए ।

यसबिचमा सम्पूर्ण शिक्षकहरुलाई विभिन्न तालिम दिएर सूचनाप्रविधिमा दक्ष बनाइएको, अन्यविद्यालयहरुसँगसमेत भर्चुअल बैठकगरी अनुभव आदानप्रदान गर्ने काम गरिएको उनले जानकारी दिए । यस्तै नगरका सम्पूर्ण विद्यालयमा उच्च गतिको इन्टरनेट विस्तार गर्न स्थानीय सरकारसँग अनुरोध गरिएको प्रअ ज्ञवालीले जानकारी दिए ।

पोखरिया मावि, विराटनगर

पोखरिया मावि विराटनगर–३ मोरङका प्रअ खेमराज भट्टराईले विद्यार्थीको पहुँच हुनसक्ने दूरशिक्षाका माध्यमका बारेमा सर्वेक्षण भइरहेको जानकारी दिए । सबै विद्यार्थीलाई एउटै माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्न नसकिने भएपछि विद्यालयले टेलिफोनमार्फत् विद्यार्थीको पहुँच रहेको माध्यमका बारेमा अध्ययन गरिरहेको र केही दिनमै एकसाथ अनलाइन, रेडियो, टेलिभिजन र शिक्षण सामग्रीमार्फत् शिक्षण सिकाइ नियमित गर्ने उनले विद्यालयको योजना सुनाए ।

हाल शिक्षकलाई प्रविधिमैत्री बनाउन विभिन्न भर्चुअल कक्षा शिक्षण तालिम सञ्चालन गरिरहेको प्रअ भट्टराइले जानकारी दिए । हाल कक्षा शिक्षक मार्फत् विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहने काम भइरहेको उनले बताए । हामीले भर्चुअल कक्षा सञ्चालन गर्न सक्थ्यौं तर, एउटै माध्यम प्रयोग गर्दा विद्यार्थी छुट्नै र विभेद हुने देखेपछि सर्वे गरेर मात्र शुरु गर्ने निर्णय गर्यौं– प्रअ भट्टराईले भने ।

पहिलो चरणको ५०० विद्यार्थीमा गरिएको सर्भेमा करिव ८९ प्रतिशत विद्यार्थीमा अनलाइनको पहुँच भएको पाइएकोसमेत उनले जानकारी दिए । ११ प्रतिशतलाई कुन माध्यममा गर्ने र अन्य विद्यार्थीको हकमा पनि सर्भे भइरहेको उनले बताए ।

लकडाउनमा पनि सक्रिय बनेका सामुदायिक विद्यालय

शत्यवती मावि ब्यास
शत्यवती मावि ब्यास–२ तनहूँका प्रअ इन्द्रप्रसाद पौडेलले लकडाउनको अवस्थामा शिक्षण सिकाइलाई निरन्तरता दिन भर्चुअल कक्षा सञ्चालन र त्यसले नसमेट्ने विद्यार्थीका लागि टोलटोलमा सिकाइ समूह बनाएर स्थानीय शिक्षक मार्फत् सिकाउने तयारी गरिरहेको जानकारी दिए ।

अहिले विद्यार्थीको कुन प्रविधिमा कति पहुँच छ भनेर अध्ययन भइरहेको र त्यसको नतिजाका आधारमा अनलाइन र अफलाइन विधिबाट शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । विद्यालयले विद्याथीृको हातहातमै पाठ्यपुस्तक र शिक्षण सामग्री पुर्याउने तयारी भइरहेकोसमेत जानकारी दिए । विद्यार्थीको पहुँचको आधारमा अनलाइन, रेडियो, टिभि, टेलिफोन र लेख्य सामग्रीद्वारा सिकाइलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

वागिश्वरी मावि भक्तपुर

वागिश्वरी मावि भक्तपुरका प्रअ कृष्णप्रसाद धन्छाले लकडाउनको अवस्थामा पनि विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई वैकल्पिक माध्यमबाट भएपनि निरन्तरता दिइरहेको बताए । विद्यालयले अनलाइनको पहुँच हुने विद्यार्थीलाई अनलाइक कक्षा र टेलिभिजनको पहुँच हुने विद्यार्थीलाई स्थानीय टेलिभिजनमार्फत कक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए । अनलाइन र टेलिभिजनको पहुँच नहुने विद्यार्थीका लागि स्थानीय रेडियो बाट कक्षा सञ्चालन गरिरहेको भन्दै रेडियोको पनि पहुँच नहुने केही विद्यार्थीका लागि स्थानीय पत्रिकामार्फत् सिकाइ सामग्री प्रकाशित गरिएको जानकारी दिए ।

यस्तै विद्यालयले भर्चुअल कक्षा सञ्चालनका लागि शिक्षकहरुलाई सूचनाप्रविधियुक्त तालिम दिएर पोख्त बनाइसकेको उनले जानकारी दिए । २०२० सालमा स्थापना भएको विद्यालयमा हाल ३ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

पद्मोदय मावि दाङ

पद्मोदय मावि दाङका प्रअ रामप्रसाद जैसीले लकडाउनको समयमा पनि विद्यालयले शिक्षणसिकाइ प्रक्रियालाई जारी राख्दै आएको बताए । विद्यार्थीहरुको सामान्य सर्भे गरेर पहुँचका आधारमा विभिन्न वैकल्पिक माध्यमहरुद्वारा वैकल्पिक कक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

विद्यालयले भर्चुअल कक्षा सञ्चालनका लागि शिक्षकलाई विभिन्न अनलाइन तालिम प्रदान गरिसकेको तथा २० शिक्षकलाई निशुल्क ल्यापटप वितरण गरिसकेको उनले जानकारी दिए । थप १० शिक्षकलाई ल्यापटप उपलब्ध गराउने योजना सुनाउँदै प्रअ जैसीले अभिभावकहरुलाई पनि मनोसामाजिक परामर्श गर्ने कार्यक्रम रहेको सुनाए । ‘विद्यालयमा क्यारेन्टाइन भएकाले शिक्षक र विद्यार्थी विद्यालयबाट तर्सिएको अवस्था छ, तत्काल खोल्ने सम्भावना पनि छैन त्यसैले भर्चुअल माध्यममा नगइ सुखै छैन’– उनले भने, अब भर्चुअल माध्यमलाई शिक्षण सिकाइकै अंग बनाउने गरी विद्यालयले यसको विकास र विस्तारमा लागिरहेको प्रअ जैसीले जानकारी दिए ।

ज्ञानोदय माध्यमिक विद्यालय बाफल काठमाडौं

ज्ञानोदय माध्यमिक विद्यालय बाफल काठमाडौंका प्रअ नातीकाजी महर्जनले विद्यालयले भर्चुअल कक्षाका लागि एउटा समिति र त्यसअन्तर्गत अनलाइन कक्षा सञ्चालनका लागि ७ सदस्यीय उपसमिति बनाएर काम गरिरहेको जानकारी दिए । उपसमितिले अनलाइनकक्षाका लागि विद्यार्थीको पहुँच सर्वे गरेर योजना बनाइरहेको उनले जानकारी दिए । विद्यालयले डिजिटल कक्षाका लागि आफ्नै सफ्टवेयरको विकास गरेको जानकारी दिँदै प्रअ महर्जनले विद्यार्थीको पहुँचका आधारमा विभिन्न वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

कालिका माध्यमिक विद्यालय बुटवल

कालिका माध्यमिक विद्यालय बुटवलका प्रअ घनश्याम पाठकले विद्यालयले महामारीको असरलाई अवसरको रुपमा लिँदै भर्चुअल शिक्षाको विकास र विस्तारमा लागिरहेको जानकारी दिए । विद्यालयले स्थानीय टेलिभिजनमार्फत नियमित कक्षासञ्चालन गर्दै आइरहेको भन्दै अन्य माध्यमलाई पनि विकल्पको रुपमा प्रयोग गरिरहेको जानकारी दिए ।

देवि मावि विर्तामोड झापा

देवि मावि विर्तामोड झापाकी प्रअ अम्विका श्रेष्ठले लकडाउनलगत्तै विद्यालयले शुरुमा विद्यार्थीहरुको अवस्था के छ भनेर पहिलो चरण जानकारी लिने, सम्पर्कमा रहने प्रयास गरेको जानकारी दिइन् । त्यसपछि भर्चुअल कक्षा सञ्चालनका लागि कुन माध्यमको पहुँचमा कति विद्यार्थी छन् भनेर जानकारी लिने काम भएको उनले बताइन् । हाल विद्यालयले वैकल्पिक माध्यमको प्रयोग गरी भर्चुअल कक्षा सञ्चालन गरिरहेको र कुनैपनि माध्यमले नसमेट्ने विद्यार्थीलाई समेट्नेबारेमा पनि तयारी भइरहेको उनले जानकारी दिइन् । शिक्षकहरुलाई सूचनाप्रविधिमैत्री तालिम सञ्चालन गरी विद्यार्थी र अभिभावकलाई विज्ञद्वारा मनोसामाजिक परामर्श गर्ने काम सकिएको उनले जानकारी दिइन् ।

लकडाउनमा पनि सक्रिय बनेका सामुदायिक विद्यालय

कार्यक्रममा देशभरका साढे चारसय विद्यालयका प्रअ, शिक्षाविद्, कर्मचारी, पत्रकार, अभिभावकलगायतको सहभागिता रहेको थियो । सामुदायिक विद्यालयमा भएका राम्रा अभ्यासको विस्तार र कोभिड–१९ पछिको योजना तय गर्न विद्यालयहरुलाई सघाउ पुगोस भनेर कार्यक्रम आयोजना गरिएको समाजका महासचिव राजेन्द्र महराले जानकारी दिए ।

Loading...