शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो ।

उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ । नेपाल प्रवेश गरेका उनीहरु कसैसँग भेटघाट नगरी सिधै क्वारेनटाइनमा आएको स्वास्थ्य शाखा प्रमुख चुरामण्ी भट्टराईले जानकारी दिए । मुम्बईबाट उनीहरु गत बैशाख २५, २७ र २८ गते नेपाल आई क्वारेन्टाइनमा आएको समेत भट्टराईले जानकारी दिए ।

संक्रमितहरु दुईजना २५ र ४४ वर्षीय पुरुष शिवराज ८, साविक विसुनपुर गाविसका हुन् भने ३४ वर्षे पुरुष भने शिवराज ११, साविक थुन्हिया गाविसका रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको शिवराज स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित तीनै जनालाई शनिबार नै दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जनाए ।

उनीहरुसँगै क्वारेन्टाइनमा रहेका ३२ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका थिए । अहिले ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेको सुपादेउराली क्वारेन्टाइनका स्वास्थ्यकर्मी जितेन्द्र वि.सी.ले जानकारी दिए । ‘रिपोर्ट नेगेटिभ आएर घर फिर्ता भएकामध्ये क्लोज कन्ट्याक्टमा आएकालाई फेरि नमूना परीक्षण गर्नुपर्ने हुन्छ ।’ –उनले भने ।

यससँगै कपिलवस्तुमा हाल संक्रमितको संख्या ४३ पुगेको छ । भने प्रदेशमा संक्रमित संख्या १०८ पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म नेपालमा भने संक्रमित संख्या कूल २७८ पुगेको छ ।

Loading...