दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा

काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा सहभागी भएका थिए । उक्त धार्मिक कार्यक्रममा १५ देशका १५ सय देखि १७ सय मानिसहरु सहभागी रहेका थिए । त्यसमध्ये सुरुमा २४ जनामा कोरोना पोजिटिभ देखिएको थियाे भने ९ जनाको मृत्यु भएको छ ।

कार्यक्रमकै क्रममा एक जना सहभागीकाे अचानक मृत्यु भएपछि उक्त धार्मिक कार्यक्रमका बारेमा थाहा भएकाे थियाे । पछि दिल्ली सरकारले उनीहरुलाइ उद्धार गरी केहीलाइ अस्पताल भर्ना गर्नुका साथै बाँकीलाइ क्वारेन्टाइनमा राखेकाे थियाे ।

सुरुमा उक्त धार्मिक कार्यक्रममा १९ जना नेपाली सहभागी भएकाे थाहा भए पनि पछि करिव ३३ जना नेपाली सहभागी भएकाे थाहा भएकाे थियाे । जसमध्ये १६ जना राैतहटका, ४ जना बाराका र १३ जना नयाँ दिल्लीमै अध्ययनरत नेपाली विद्यार्थी रहेकाे खुलेकाे थियाे । अहिले दिल्लीकै निजामुद्दीन विद्यालयमा पढ्ने १३ जना नेपाली विद्यार्थी क्वारेन्टाइनमा राखिएका छन ।

कोरोना भाइरस फैलिएको जानकारी पाएलगत्तै बाराका २३ र १७ वर्षीय चेन्नईमा रहेका दुई जना नेपाली युवालाई परिवारले फर्किन सुझाएको थियो । घर फर्किनलाई उनीहरुले रक्सौलको टिकट पनि काटेका थिए । तर, लकडाउन घोषणा भएपछि दुबै बीचमै अड्किए । त्यसपछि धार्मिक सभामा पुगेको बताइएको छ ।

भेलामा सहभागीलाई कोरोना भाइरसको संक्रमणमा देखिएपछि उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार उनीहरुको पहिलो परीक्षणमा कोरोनाको लक्षण देखिएको छैन । यद्यपि थप केही परीक्षणको नतिजा आउन बाँकी रहेको चिकित्सकहरुले जानकारी गराएका छन् ।

अहिले भारतमा साेही धार्मिक कार्यक्रमका कारण कोरोना भाइरस फैलिएकाे बताइन्छ । भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको उक्त धार्मिकसभामा सहभागी भएका मध्ये ९ जना इन्डाेनेशियामा भएकाे यस्तै धार्मिक कार्यक्रममा सहभागी भएर अाएकाे र उनीहरुबाटै काेराेना भारतमा फैलिएकाे भारतीय मिडियाकाे विश्लेषण छ ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो । तर, स्थानीय प्रशासनले कुनै रोक लगाएन । तर, जब सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसको कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो, तब भारतभर त्रास फैलियो ।

दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी पाइएको छ । यस्तै तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

त्यसपछि त्यो धार्मिक सभामा सहभागीहरुको खोजीका क्रममा नेपालबाट पनि २० जना सहभागी भएको खुलेको छ । सुरुमा यो संख्या १९ बताइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरि ओडारीले धार्मिक सभामा सहभागी नेपालीहरुबारे बुझ्ने काम भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘स्थानीय प्रशासनले उहाँहरुलाई क्वारेन्टाइनमा राख्ने लगायतका प्रक्रिया गरिरहेको छ ।’

Loading...