भिजिट भिसामा विदेश पठाएर कराेड कुम्ल्याउनेहरुकाे यस्ताे जालाे

काठमाडौं, २२ असार । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।

तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । 

तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ । यसरी खाडी मुलुक पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् ।

विभिन्न म्यानपावर कम्पनी र त्यहाँ काम गर्ने एजेन्ट तस्करीमा संलग्न हुँदै आएको स्रोत बताउँछ । उनीहरूको ‘आर्थिक सम्बन्ध’ विमानस्थलका प्रहरी, अध्यागमन र एयरलान्सका कर्मचारीसँग छ ।

स्रोतका अनुसार पछिल्लो पटक असार १३ गते मानव तस्करले १० जनालाई भिजिट भिसामा दुबई पठाएका थिए । एयर अरेबियाको उडान नम्बर ५ सय ३० बाट उक्त दिन चार युवालाई तस्करले दुबई पठाएका हुन् । थप ६ जनालाई पनि त्यही दिन भिजिट भिसामा दुबई नै पठाइएको थियो ।

एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिएका छन् । स्रोतका अनुसार भिजिट भिसामा खाडी मुलुक जानेले टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ खर्चिएका थिए । केही दिनअघि एक होटलमा कार्यरत सेफ पनि सेटिङमै दुबई उडेका थिए । दुबईस्थित होटलमा काम खोजेर उनी भिजिट भिसामा त्यसतर्फ गएका हुन् ।

त्यसरी विदेश जानेमा झापा राजगढका ताराप्रसाद सापकोटा, झापाकै दिनेश भण्डारी र अर्का दुई जना आइतबहादुर घिसिङ र आकाश तामाङ छन् । ‘कुँवर थरका व्यक्तिले टिकट खर्चसहित प्रतिव्यक्ति दुई लाख लिएर प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ गरेका हुन्’, उड्नुअघि तामाङले भन्नुभयो, ‘अहिले हामीसँग भएको एक हजार डलरसमेत दुबई पुगेपछि त्यहाँको एजेन्टलाई फिर्ता गर्नुपर्छ । यो एजेन्टकै पैसा हो ।’ तामाङले अरू ६ जना आफ्नो समूहका नरहेको बताउनुभयो । ‘अब हामी दुबईमै त्यहाँका एजेन्टमार्फत काम खोज्छौं ।’

विगतमा खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसामा जान दिने गरेका थिए ।

पछिल्लो समय भिजिट भिसामा जाने महिला कामदारमाथि हुने विभिन्न हिंसाको उजुरी आउन थालेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो ।

विमास्थलस्थित अध्यागमन प्रमुख होमनाथ थपलियाले भिजिट भिसाको सेटिङमा आफ्ना कर्मचारीको संलग्नता खुले कडा कारबाही गर्ने बताउनुभयो । ‘हामीलाई कसैले उजुरी गरेको छैन । उजुरी आयो भने आवश्य कारबाही गर्छौं’, थपलियाले भन्नुभयो ।

साउदी अरबमा मात्रै झन्डै ४० हजार नेपाली महिला अवैध रूपमा कार्यरत छन् । कुवेत, कतार र युएईमा पनि नेपाली महिलाको संख्या उल्लेख्य छ । नेपाली कामदारको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोली चैत ५ मा खाडी मुलुक गएको थियो ।

संसदीय टोलीले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थलस्थित अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो ।

Loading...