स्कुलमै स्थानीयले बाध्छन गाईबस्तु, खानेपानी नहुदा गाउँलेको घरमा गएर प्यास मेटाउनु भन्दा अर्को विकल्प छैन । यस्तो अवस्थामा छन यि विद्यालयहरु

बिर्तामोड, ६ मंसिर । शिवसताक्षी नगरपालिकामा पर्ने झरना प्राथमिक विद्यालय दुई वर्षयता बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द गर्नुपरेको हो ।

झापाको अर्जुनधारास्थित बालज्योति प्राथमिक विद्यालयको कक्षा ४ मा पाँच जना विद्यार्थी । कक्षा १ मा विद्यार्थी छैनन् । विद्यालयमा २२ जनामात्र विद्यार्थी छन् । बर्सेनि विद्यार्थी घटेको शिवसताक्षीकै सतासी प्रावि पनि बन्दको संघारमा छ । नगरका कन्काई, श्रीजंगा र अरुणोदय प्राविमा पनि पर्याप्त विद्यार्थी संख्या छैन । दीपेन्द्र आधारभूत, भीमनारायण, शान्ति, बालकल्याण र भगवती आधारभूत विद्यालयमा शिक्षकको आवश्यक दरबन्दी छैन । प्रावि शिक्षकले नै आधारभूत तहका विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । शुक्र माविमा मावि दरबन्दी नरहेको शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले बताए ।

शिवसताक्षीका अधिकांश सामुदायिक विद्यालयका शौचालय कामचलाउ मात्रका छन् । सफा खानेपानीको व्यवस्था छैन । भगवती मावि, अरुणोदय प्रावि, झिलझिले मावि, सरस्वती प्राविमा विद्यालय भवनको अभाव छ । नगरको शिक्षा जेनतेन चलेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरका जनप्रतिनिधिसँग ठोस योजना छैन । शिक्षामा उपलब्धि हासिल गर्नेगरी जनप्रतिनिधिहरू निर्वाचित भएर आएको तेस्रो वर्षमा पनि कुनै कार्यक्रम अघि बढ्न सकेको छैन । उनीहरूको सधैं एउटै गुनासो छ ‘हामीसँग आन्तरिक स्रोत पर्याप्त छैन ।’

जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हालेको यो तेस्रो वर्ष हो । स्थानीय तहको प्राथमिकतामा लगातार भौतिक विकासका योजना छन् । जिल्लाका सामुदायिक विद्यालयहरू अभावमा चलिरहेका छन् । विद्यालयलाई जनशक्ति र योजना दिने विषय प्राथमकितामा परेको छैन । शिवसताक्षीमा ३५ सामुदायिक र २६ निजी विद्यालय छन् । १२ मावि, ९ आधारभूत र १४ प्रावि छन् । ती विद्यालयमा ९ हजार ७ सय विद्यार्थी छन् । एउटा संस्कृत विद्यालय पनि छ । यी सबै विद्यालयको समग्र विकासका लागि नगरले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मेचीनगर नगरपालिकामा ४१ वटा सामुदायिक विद्यालय छन् । १५ मावि, १२ आधारभूत र १४ प्राविमा १२ हजार ९ सय ५६ विद्यार्थी छन् । नगरपालिकाले चालु वर्ष नगरको शिक्षा विकासका लागि ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा शाखाका लोकबहादुर दाहालले बताए ।

भद्रपुर नगरमा ३१ वटा सामुदायिक विद्यालय छन् । ८ मावि, १२ आधारभूत र ११ वटा प्राथमिक विद्यालय छन् । तिनमा ८ हजार ३४२ जना विद्यार्थी छन् । नगरभित्र दुई संस्कृत शिक्षालय र एउटा मदरसा पनि छन् । नगरपालिकाले शिक्षाको विकासका लागि चालु वर्ष ५४ लाख ९५ हजार विनियोजन गरेको छ । गौरादह नगरमा ३२ सामुदायिक विद्यालयमा १० मावि, चार आधारभूत र १९ प्रा वि छन् । दुई दुईवटा मदरसा र संस्कृत विद्यालय छन् । नगरपालिकाले चालु वर्ष शिक्षामा एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अर्जुनधारा नगरका २८ वटा सामुदायिक विद्यालयमा नौवटा मावि, ६ आधारभूत र १३ वटा प्राथमिक स्तरका छन् । यिनमा विद्यार्थी संख्या ७ हजार १ सय ४० छ । पाँचवटा संस्कृत शिक्षालय छन् । नगरपालिकाले शिक्षाका लागि चालु वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । गौरीगन्ज गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय छन् ।

४ मावि, ३ आधारभूत र १९ प्राविमा गरी ५ हजार २ सय ५१ विद्यार्थी छन् । गाउँपालिकाले शिक्षामा ७५ लाख विनियोजन गरेको छ । झापा गाउँपालिकामा २१ सामुदायिक विद्यालय छन् । ४ मावि, ४ आधारभूत र १३ प्राविमा गरी ५ हजार ७१ जना विद्यार्थी छन् । गाउँपालिकाले चालु वर्ष शिक्षातर्फ ७२ लाख २८ हजार विनियोजन गरेको छ ।

चालु वर्ष शिक्षातर्फ दमक नगरपालिकाले ७३ लाख ५५ हजार, बिर्तामोड नगरपालिकाले ३ करोड, हल्दिबारी गाउँपालिकाले ३ करोड ७० लाख ७७ हजार, कमल गाउँपालिकाले २ करोड २ लाख ८७ हजार, बाह्रदशी गाउँपालिकाले एक करोड २१ लाख ४५ हजार, कन्काई नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । स्थानीय तहले पूर्वाधार विकासका योजनाका तुलनामा निकै थोरै बजेट शिक्षाका लागिछुट्याएका छन् ।

गतिला कक्षाकोठा न शौचालय
२००२ सालमा स्थापना भएको भद्रपुर मावि जिल्लाकै जेठो शिक्षालय हो । यहाँ पर्याप्त कक्षाकोठा छैनन् । भएको भवन पनि पुरानो र धराप छ । जोखिम मोलेर ६, ७ र ८ का तीनवटा कक्षा सञ्चालन गर्नुपरेको शिक्षक काजीमान लिम्बूले बताए । विद्यालय परिसरमा घेराबारा छैन । खुला क्षेत्र भएकाले परिसरमा पशुचौपाया जथाभावी छिर्छन् । भन्सार छली गर्ने तस्करहरूले राति लुक्ने ठाउँ बनाउँदै आएका छन् ।

नगरकै आदर्श प्रावि, सरस्वती विद्या मन्दिर प्रावि, महेशपुर आधारभूत, सिंहदेवी प्राविले घेराबारा, कक्षाकोठाको अभाव, छाना चुहिने, जग्गासम्बन्धी समस्या झेलिरहेका छन् । ११ मध्ये सातवटा प्राविमा सय जनाभन्दा कम विद्यार्थी रहेको शिक्षा शाखाका योगेन्द्र पौडेलले बताए । सामुदायिक विद्यालयको अवस्था, नगरको समग्र शिक्षाको विकास र गुणस्तर सुधारका लागि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

गौरादहको कञ्चनजंघा, दुर्गादेवी, लालजनकल्याण र बलभद्र प्राविमा शिक्षक दरबन्दी कम छ । जनज्योति र मोति माविमा माविस्तरको शिक्षक दरबन्दी नै छैन । नगरपालिकामा नगर शिक्षा समिति गठन हुन सकेको छैन । मेयर रोहित साह कांग्रेस तथा उपमेयर गीता भेटवाल नेकपाबाट निर्वाचित भएकाले राजनीतिक खिचातानीले शिक्षा समिति गठन हुन नसक्दा नगरपालिकाले शिक्षाका योजनामा ध्यान दिन सकेको छैन ।

अर्जुनधाराको शनिश्चरे, भानु, महारानीगन्ज र अर्जुनधारा माविमा पनि भौतिक पूर्वाधारको अभाव छ । श्रीप्रावि, बालज्योति, भीमले आधारभूत, नवज्योति प्रावि र समाजसेवी प्राविले चरम विद्यार्थी अभाव झेलिरहेका छन् । स्वच्छ खानेपानी, छात्रामैत्री शौचालय छैन । गौरीगन्जकाअधिकांश विद्यालयमा घेराबारा छैन ।

घेराबारा नहुँदा स्कुल समयमै स्थानीयले गाईबस्तु बाँधिदिँदा पठनपाठनमाअसर पर्ने गरेको छ । अधिकांश विद्यालयमा दरबन्दी छैन । दरबन्दी भए पनि शिक्षक छैनन् । खानेपानीमा ट्युवेलबाहेक विद्यार्थीसँग विकल्प छैन । बगुवा प्राविमा ट्युवेलसमेत छैन । विद्यार्थी स्थानीय गाउँलेको घरमा गएर प्यास मेटाउँछन् ।

झापा गाउँपालिकाको महेन्द्र आधारभूतका विद्यार्थी छाना चुहिने पुरानो टहरामा पठनपाठन गर्न बाध्य छन् । पुग्दो कक्षाकोठा छैन । आवश्यक फर्निचर छैन । आधारभूत तहका लागि दरबन्दीसमेत छैन । सिमलबारी आधारभूत विद्यालयमा २६५ विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि दुई कोठाको मात्र शौचालय छ । एउटा छात्र र एउटा छात्राका लागि भएकाले विद्यार्थी लामो लाइनमा बसेपछि मात्र शौच गर्न पाउँछन् । भृकुटी आधारभूत र अमरसिंह प्राविमा भौतिक संरक्षणको अभाव रहेको शिक्षा शाखा प्रमुख खड्गप्रसाद खरेलले बताए ।

प्राथमिकता भौतिक विकासमा
दमकमा २१ वटा सामुदायिक विद्यालय छन् । नगरको शिक्षामा ७३ लाखमात्र विनियोजन गरेका जनप्रतिनिधिले भौतिक विकासका योजनामा भने करोडौं छुट्याएका छन् । नगरपालिकाको चालु वर्षको पुँजीगततर्फ सबैभन्दा बढी सडक तथा पुल निर्माणमा ५२ करोड १८ लाख ९३ हजार अर्थात कुल बजेटको ३१।५५ प्रतिशत विनियोजित छ । नगरपालिकाको यो वर्षको बजेट एक अर्ब ६५ करोड छ । यो जिल्लाका सबै पालिकाहरूको भन्दा बढी हो ।

जिल्लाको दोस्रो ठूलो बजेट भएको नगरपालिका हो, मेचीनगर । चालु वर्ष एक अर्ब ४२ करोड ८८ लाख ६० हजार बजेट पारित गरेको नगरपालिकाले शिक्षातर्फ ५९ लाखमात्र छुट्याएको छ । भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले ससर्त अनुदानबाहेक पूर्वाधार विकास शीर्षकमा २७ करोड ८७ लाख६३ हजार रुपैयाँ छुट्याएका छन् । नगरको कुल बजेट ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँ रहेको छ । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिले पूर्वाधार विकास शीर्षकमा १७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेका छन् । शिवसताक्षीको चालु वर्षको कुल बजेट ८७ करोड ५४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

जनप्रतिनिधिले बुझेनन् शिक्षाको महत्त्व

जनप्रतिनिधिले महत्त्व नबुझ्दा शिक्षाको विकासमा बजेट दिन कञ्जुस्याइँ भएको अर्जुनधारा नगरपालिकाका पूर्वशिक्षक भैरवप्रसाद पौडेलले बताए । ‘सबैको ध्यान भौतिक विकासका योजनामा छ,’ उनले भने, ‘शिक्षाको महत्त्व बुझेर यसतर्फ लगानी पुग्योरपुगेन भनेर सोच्ने कोही भएनन् ।’ विद्यालयको गुणस्तर सुधार, शिक्षामा लगानी वृद्धि गराउनेतर्फ अभिभावक र सरोकारवालाको पनि दबाब नपुगेको उनले बताए । जनप्रतिनिधिहरूका लागि विकास भनेकै सडक, ढुंगा, गिट्टी मात्र हो भन्ने बुझाइले समस्या रहेको शिक्षाका उपसचिव उद्धव विष्टले बताए ।

‘उनिहरू एकोहोरो भएर भौतिक विकासतर्फ लागेका छन,’ उनले भने, ‘शिक्षामा हुने लगानीको प्रतिफल दूरगामी हुन्छ ।’ भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले शिक्षालाई प्राथमिकता दिइएको दाबी गरे । ‘तीन वर्ष भौतिक विकासमा तथा बाँकी दुई वर्ष सामाजिक विकासमा खर्च गर्ने तालिका बनाएका छौं । त्यहीअनुसार अघि बढिरहेका छौं,’ उनले भने, ‘अर्को वर्षदेखि हामी भौतिकभन्दा बढी सामाजिक विकासमा बजेट विनियोजन गरेर अघि बढ्नेछौं ।’

Loading...