मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ : डा महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उहाँको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहनुभएका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसँग गरिएको कुराकानी :

नेपाल र चीनबीचको सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ?

– चीन हाम्रो असल छिमेकी राष्ट्र हो । चीन समृद्धिको बाटोमा अगाडि बढेको र विश्वकै शक्ति राष्ट्र पनि हो । काङ्ग्रेसले चीनमा कुन राजनीतिक व्यवस्था छ भन्ने आधारमा दुई देशबीचको सम्बन्धलाई हेर्दैन । हामी विदेश नीति सञ्चालन गर्दा त्यो देशसँगको सम्बन्धबाट दुई देशलाई कसरी लाभ हुन्छ र नेपालको स्वार्थलाई कसरी परिपूरण गर्न सकिन्छ भन्नेमा विश्वास गर्छाैं । यसैलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ ।

कुन देशमा कुनखालको राजनीतिक प्रणाली छ भनेर हामीले सम्बन्धलाई अलग अलग आँखाले हेर्नुहुँदैन । काङ्ग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको समयदेखि अहिलेसम्म काङ्ग्रेसले चीन, भारतलगायत मित्रराष्ट्रसँगको सम्बन्धलाई यही आँखाले हेर्ने गरेको छ । द्विपक्षीय सम्बन्ध विकास गर्दा नेपालको राष्ट्रिय स्वार्थलाई अभिवृद्धि गर्न कसरी मद्दत गर्दछ त्यसको आधारमा नै सम्बन्ध विकास गर्ने हो । चीनसँगको विदेश नीतिको मूल आधार पनि यही नै हो ।

चीनसँगको दुई पक्षीय सम्बन्धलाई कसरी अझ सुदृढ बनाउन सकिन्छ ?

– पहिलो कुरा त हामीले कुन देशको नेतृत्वले के सुन्न चाहेको छ, त्योअनुसार बोल्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । हरेक देशले आफ्नो राष्ट्रिय स्वार्थलाई पूर्ति गर्ने कुरालाई नै केन्द्रबिन्दुमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्छन् । त्यो गर्दा कसैले अनौठो मान्दैनन् । त्यो उपयुक्त हो । हामीले पनि एक देशको पदाधिकारीकहाँ जाँदा एउटा कुरा गर्ने अनि अर्काे देशको पदाधिकारीसँग अर्काे कुरा गर्ने गर्नु हुँदैन । चीनसँगको सम्बन्ध सुदृढ गर्न पनि हाम्रो समस्या, स्वार्थ र आवश्यकताका बारेमा निर्धक्क कुरा राख्न सक्नुपर्छ । त्यो भयो भने मात्र हाम्रा मित्रराष्ट्रबाट हामीले विश्वास र सहयोग पनि आर्जित गर्छौं । तर हामीले त्यो मापदण्डलाई नपछ्याई विदेश नीतिलाई हचुवाको भरमा अपरिपक्व ढङ्गबाट सञ्चालन ग¥यौँ भने देशको आवश्यकता र स्वार्थ पूर्ति हुँदैन ।

द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन के कुरामा बढी जोड दिनुपर्ला ?

– पहिलो कुरा उनीहरूको चासो र चिन्ता के छ त्यसमा बढी संवेदनशील हुनुपर्छ । चीनले तिब्बतको विषयलाई प्रमुखताका साथ लिएको छ । त्यसमा नेपालले सदैव एक चीन नीति अपनाउँदै आएको छ र हाम्रो भूमि चीनको विरुद्ध प्रयोग हुँदैन भन्नेमा आश्वस्त पार्नुुपर्छ त्यसमा हामी प्रतिबद्ध पनि छौँ । अर्काे हाम्रो राष्ट्रिय आवश्यकता र स्वार्थ पनि छन् । नेपाल भूपरिवेष्टित मुलुक हो र विकास निर्माणका आवश्यकता धेरै छन् । चीन समृद्धशाली देश भइसकेको छ । अर्काेतिर चीनसँगको व्यापार घाटा पनि बढ्दो छ । नेपाली वस्तु शून्य भन्सार दरमा चीनमा निर्यात गर्नुपर्छ । त्यो गर्दा चीनलाई कुनै असर पर्दैन किनकि नेपालको वस्तु न्यून मात्रामा निर्यात हुन्छ । यसो गर्न सके व्यापार घाटाको प्रतिशतलाई केही कम गर्न सक्छौँ । यसैगरी चीनको लगानी नेपालमा बढाएर त्यसबाट उत्पादित वस्तु चीनमा नै निर्यात गर्न सकिन्छ ।

चीनले अघि सारेको बिआरआई परियोजनालाई कसरी लिनुभएको छ ?

–बिआरआई परियोजना यातायात, ऊर्जा, सूचना प्रविधि तथा सञ्चारलगायत क्षेत्रमा विकास पूर्वाधारसँग सम्बन्धित छ । म नै परराष्ट्र मन्त्री हुँदा यस परियोजनामा नेपालका तर्फबाट हस्ताक्षर भएको हो । यसमा हस्ताक्षर अघि मुलुकको आवश्यकता र स्वार्थलाई मध्यनजर गरी निकै तयारी गरेका थियौँ । चीनले दिएको प्रस्तावमा धेरै परिमार्जन गरेर हामी सन्तुष्ट भएपछि मात्र सम्झौतामा हस्ताक्षर गरेका हौँ । सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा खासै व्यावहारिक पहल अघि बढेको देखिँदैन । यसको कार्यान्वयन महत्वपूर्ण विषय हो ।

बिआरआई परियोजनाबाट नेपालले कसरी लाभ लिन सक्छ ?

–बिआरआई परियोजना कार्यान्वयन गर्दा चिनियाँ लगानी भित्र्याउने र त्यस लगानीबाट उत्पादित वस्तु चीनमा नै निर्यात गर्न सुनिश्चितता गर्न सकियो भने व्यापार घाटा कम गर्न सकिन्छ । त्यो हाम्रो राष्ट्रिय हितमा हुन्छ । त्यसैले यसमा ध्यान दिनुपर्छ । शून्य भन्सार दरमा चीनमा वस्तु निर्यात गर्ने विषयमा हामीले त्यही बेला कुरा पनि उठाएका थियौँ ।

अर्काे सम्पर्क सञ्जाल विस्तारअन्तर्गत प्रसारण लाइन, सडक, रेललगायत विषय छन् । यसमा हामीले विचार पु¥याउनुपर्ने कुरा भनेको ती लगानीबाट नेपाललाई दीर्घकालीन कति फाइदा हुन्छ भन्ने हो । जस्तो रेलको कुरा छ, यसमा लगानीको कुरा गरेरमात्रै हुँदैन । यसबाट प्रतिफल आउँछ कि आउँदैन विचार पु¥याउनुपर्छ । प्रतिफल नहुने गरी हामीले कुनै पनि क्षेत्रमा ऋण लिन सक्दैनौँ । रेलको लगानीबाट उचित प्रतिफल आउँदैन भने ऋण लिएर लगानी गर्नु उपयुक्त हुँदैन । कि उहाँहरूले अनुदानमा बनाइदिने समझदारी गर्नुप¥यो ।

त्यसैले हाल सडक नै प्रमुख विषय हो । रसुवागढीलगायत अन्य उत्तरी नाकामा पनि बाहै्र महिना चल्ने बाटो निर्माणमा बढी जोड दिनुपर्छ । त्यस्तै अरु क्षेत्रमा पनि ऋण लगानी गर्दा त्यसको प्रतिफल कहिलेसम्म आउँछ तथा शर्तरहित र न्यून ब्याजदरमा मात्र ऋण लिनुपर्छ, जुन मुलुकको हितमा हुन्छ । कुन आयोजनामा लगानी गर्दा प्रतिफल सुनिश्चित हुन्छ र बढीभन्दा बढी जनता कसरी लाभान्वित हुन्छन् भन्नेमा ध्यान दिनुपर्छ । हचुवाका भरमा अर्थ नबुझी यो गर्ने त्यो गर्ने भनेर बोल्नुहुँदैन । यसमा सरकारले आवश्यक तयारी गर्नुपर्छ ।

चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ त्यसका लागि के कति तयारी गर्नुपर्ला ?

–चिनियाँ राष्ट्रपति नेपाल आउँदैहुनुहुन्छ भन्दा एकदमै खुशी लागेको छ । हामीले पहिलेदेखि नै उहाँलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले अनुकूल समयमा आउने बताउनुभएको थियो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ । उहाँको भ्रमणले दुई देशको सम्बन्ध थप समृद्ध हुनेछ । नेपालको हितमा सरकारले प्रस्ताव लैजान सकोस् । चीनले पनि नेपालमा लगानी, व्यापार, विकास निर्माणलगायत क्षेत्रका समस्यालाई ध्यानमा राखेर उदारतापूर्वक सहुलियत सहयोग प्राप्त हुने वातावरण बनोस् भन्ने हामी चाहन्छौँ । चिनियाँ राष्ट्रपति नेपाल आउँदा हामीले अत्यन्त गम्भीरतासाथ तयारी गर्नुपर्छ । सानातिना विषयमा अल्झिनु हुँदैन । महत्वपूर्ण प्राथमिकताका क्षेत्रमा सहुलियत र न्यून ब्याजदर तथा उचित परियोजनामा सहयोगका लागि केन्द्रित हुनुपर्छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन कस्तो मद्दत गर्ला ?

–चीनबाट धेरैपछि नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको छ । यो खुशीको कुरा हो । यसले अवश्य पनि दुई पक्षीय सम्बन्धलाई सुदृढ बनाउन मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पार्टीको त सदैव एकनासको दृष्टिकोण छ । हामी चीनसँगको सम्बन्धलाई पार्टीगत आँखाले हेर्दैनाँै, देशको चस्माले हेर्छौं । चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने कुरा जननायक बिपी कोइरालाको पालादेखि नै हाम्रो एकनासको नीति छ । देशलाई नै केन्द्रबिन्दुमा राखेर सम्बन्ध विकास गर्ने हाम्रो नीति छ ।

Loading...