३२ जिल्लामा टेलिकमले आज फोर जी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा पुर्याउँदै

काठमाडौं, १५ असोज । नेपाल टेलिकमले ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्ने भएको छ । देशका सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा आजै पुर्याउने टेलिकमले जनाएको छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो ।

टेलिकमले फोर जी सेवा विस्तार भएका जिल्लामा सेवाग्राहीहरुले साविककै मूल्यमा दोब्बर डाटा पाउने जनाएको छ । टेलिकमले यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गर्ने पनि जनाएको छ ।

टेलिकमका ग्राहकले जम्मा २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन् । यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो । यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ ।

यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ ।

साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो । यो सेवा नेपालमै पहिलो पटक सुरु गरिएको थियो । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह सहज हुने नेपाल टेलिकमको दाबी छ ।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा सुधार हुने टेलिकमले अपेक्षा गरेको छ । विस्तारित फोरजी एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ ।

हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुने टेलिकमको विश्वास छ ।

Loading...