रौतहटमा दर्जनौ राउन्ड गोली चल्यो, गएरातिदेखि पटक पटक झडप

रौतहट, २६ भदौ । प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा गोली चलेको छ । छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि भएको विवादले अन्ततः झडपको रुप लिएर गोलीसम्म चलेको हो । ननस्टपखबरका स्थानीय संवाददाताका अनुसार प्रहरीले पचास राउन्ड गोली चलाएको र तीन दर्जनजति अश्रुग्याँसका गोला हानेको थियो ।

मूर्ती तोडफोडकोे विषयले बुधवारदेखि रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको थियो । आज कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप भएको र उक्त झडप नियन्त्रण गर्नका लागि परिचालन गरिएको प्रहरीले गोली चलाएको हो ।

प्रहरीले भने दुई पक्षबीचको झडप नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरिएको र अश्रुग्याँसले पनि भिड नियन्त्रण बाहिर गएको र प्रहरीमाथि नै आक्रमण हुन थालेपछि हवाइफायर गरिएको जनाएको छ । प्रहरीले भने झडपलाई नियन्त्रणमा लिन ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको जनाएको छ ।

बिहीबार कुडियाबजार नजिकै रहेको एउटा पोखरीको किनारमा झण्डा राखिएको थियो । मुस्लिम समुदायले राखेको उक्त झण्डा प्रहरीले निकालेपछि त्यही विषयलाई लिएर विवाद उत्पन्न भएको र विवादले उग्ररुप लिएको बताइएको छ । सो क्रममा स्थानीयकै दुई समूहबीच झडप भएको थियो । सो क्रममा झडपमा उत्रेकाहरुले प्रहरीको गाडीमा पनि ढुंगामुढा गरेका थिए । झडप नियन्त्रण गर्न प्रहरी नायव उपरिक्षक नवीन कार्कीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

यसैबीच कुडियाबजारमा सिर्जना भएको झडपपूर्ण अवस्थाको समाधान गर्न जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ । जिल्ला प्रशासन कार्यालय रैतहटमा बसेको बैठकमा झडपका बारेमा छलफल भइरहेको बताइएको छ ।

उक्त क्षेत्रमा यसअघि बुधवार पनि झडप भएको थियो । बुधवार राति भएको झडपमा पनि प्रहरीले गोली चलाउनुका साथै अश्रुग्याँस प्रयोग गरेको थियो । त्यसपछि त्यहाँको समस्या समाधान गर्न स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मात्र मुस्लिम अगुवाहरुसँग छलफल पनि गरेको थियो । मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । तर, प्रहरीले उक्त झण्डा हटाउने बित्तिकै फेरि झडप सुरु भएको हो । स्थानीयले झण्डा किन हटाएको भन्दै प्रहरीकै विरुद्ध दिउसो प्रदर्शन गरेका थिए ।

Loading...