बैंक खाताप्रति महिलाको बढ्दो आकर्षण

डोटी, २५ भदौ । जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई गइका छन् । ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्दथे । कहिलेकाहीँ आफू घर आउँदा उनले आफँै पनि बोकेर आउने गर्दथे ।

दुःख गरी कमाएको पैसा आफूले बोकेर ल्याउँदा होस् वा अरू कसैको हातमा पठाउँदा, बाटोमा पैसा लुट्छन् कि भन्ने डर सधैँ हुन्थ्यो, खेमराजलाई । अचेल भने खेमराज विक ढुक्कसँग पैसा पठाउने गर्दछन । उनकी धर्मपत्नी ईश्वरीले करीब एक वर्षपहिले डोटीमा रहेको एभरेष्ट बैंकमा खाता खोलेपछि अब खेमराजले न त पैसा बोकेर ल्याउनुपर्छ न बाटोमा लुटिने डर छ ।

श्रीमान्ले अहिले खातामै पैसा पठाउन थालेपछि आफू निकै खुशी भएको खेमराज विककी श्रीमती ईश्वरी विकले बताईन। उनले भनिन, “श्रीमान्ले पैसा खातामै पठाइरहन्छन, मलाई चाहिएको जति झिक्छु, बाँकी बैंकमै रहन्छ, न चोरको डर, न हराउने डर छ अहिले त ।”

सोही गाउँकी ३० वर्षीया उसा बोहराले पनि बैंकमा खाता खोलेकि छने । रोजगारीका लागि मलेसियामा रहेका उनका श्रीमान्ले मलेसियाबाट पैसा पठाउँदा उनकै खातामा पठाउने गर्छन । आइएमई गर्नुपर्ने, अर्काको खातामा पैसा मगाउनुपर्ने झन्झटबाट अहिले आफू मुक्त भएको उषा बोहराले बताए ।

ईश्वरी र उषाजस्तै ३५ वर्षीया पवित्रा बोहराले पनि बैंकमा खाता खोलेकि छन । पवित्राका श्रीमान् श्रीमती खेतीपातीकै काममा घरैमा व्यस्त छन । उनिहरुले पालेका कुखुरा, बाख्रा बिक्रीबाट आएको सानोतिनो कमाई घर खर्चबाट बचेपछि बैंकमा जम्मा गर्ने गरेका छन । विगतको तुलनामा अहिले गाउँतिरका महिलाहरु बैंक खाता खोल्नतिर आकर्षित भएका छन् ।

धामीगाउँमा रहेको ३० सदस्यीय महिला समूहमा सबैले बैंकमा खाता खोलेका छन् । “कुनै सदस्यको आफ्नो नाममा नभएर श्रीमान्को नाममा होला, कुनैको आफ्नै नाममा होला”, समूहकी सदस्य पवित्रा बोहराले भनिन “प्रत्येक घरका एक जनाको बैंकमा खाता छ, सबैले पैसा बैंकमै जम्मा गर्ने गरेका छन् ।”

सुरक्षित वैदेशिक रोजगार र बचतका बारेमा छलफल गर्नका लागि गठन भएको एकता सुरक्षित आप्रवासन समूह गठन भएपछि सबैले बैंक खाता खोलेको पवित्रा बोहराले जानकारी दिईन । उनले भनिन, “करीब तीन वर्ष भयो हामीले समूह गठन गरेको, यसअघि गाउँमा धेरै भए चार÷पाँच जनाको मात्रै खाता थियो होला तर अहिले समूहका सबै सदस्यको नाममा खाता रहेको छ ।”

सुरक्षित आप्रवासनको क्षेत्रमा जिल्लामा काम गर्दै आएको ‘निड्स नेपाल’ नामक एक गैरसरकारी संस्थाले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरणमा बैंक खाताको महत्वका बारेमा जानकारी गराएपछि आफूहरुले खाता खोलेको समूहकी अध्यक्ष उषा बोहराले बताइृन । उनले भनिन, “हामी मुख्य रुपमा वैदेशिक रोजगारको विषयमा छलफल गर्ने गर्छौं ।

त्यसका साथसाथै बचतको विषयमा पनि छलफल गर्ने गर्छौं र बैंकमा नै सबै कारोवार गर्छौं ।” यति मात्र नभई उक्त समूहको मासिक बचतका लागि निड्स नेपालले सहयोग गरिरहेको छ ।

संस्थाले प्रतिव्यक्ति खाजाबापत दिँदै आएको रु ३० खाजा नखाई बचत गरिरहेका छन् महिलाहरुले । यसरी जम्मा गरेको रकम हाल कोषमा रु ५२ हजार भएको छ । उक्त कोषको रकम चलाएबापत समूहका सदस्यहरुले १२ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ भने समूहभन्दा बाहिर यदि कसैले ऋण लिए २४ प्रतिशत ब्याज तिर्नुपर्ने नियम बनाइएको उक्त समूहकी सदस्य प्रतिभा बोहराले जानकारी दिईन ।

मुख्यतः वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने हिसाबले आफूहरुले परियोजनामार्फत महिलालाई सचेत गराइरहेको निड्स नेपालका कार्यक्रम संयोजक प्रकाशचन्द्र मडैले बताए। उनले भने “वैदेशिक रोजगारीमा कमाएको पैसा कसरी सुरक्षित घरमा पु¥याउने भन्ने उद्देश्यले हामीले यो कोष र समूह बनाएका हौँ, हामीले सोचेअनुसार काम भइरहेकाले हामी पनि खुशी छौँ ।”

विदेशमा कमाएको पैसा सुरक्षित ल्याउन नसक्दा बाटैमा लुटिने र कामका लागि गएकाहरु उतै हराउने जस्ता घटना डोटीमा धेरै हुने गरेको पाइएकाले यसबारेमा सचेतना जगाउन आवश्यक रहेको कार्यक्रम संयोजक मडैले बताए ।

Loading...