हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु

इलाम, २५ भदौ । हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो ।

‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ । सर्भे विद्यालयस्तरका बालबालिकालाई मात्र गरिने जनाइएको छ । कक्षा १ र २ का विद्यार्थीमा यो परीक्षण गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर सुपरीवेक्षक विमल दाहालले जानकारी दिए ।

हात्तीपाइलेको लक्षण भए पनि रोग भने लामो समयपछि मात्र देखापर्ने भएकाले बालबालिकामा सो सर्भे थालिएको हो । “विभिन्न कारणले बालबालिका यो औषधि खान वञ्चित भएका हुन्छन्”, बरालले भने, “अहिले हात्तीपाइलेको लक्षण भए पनि लामो समयपछि मात्र रोग निम्तिने भएकाले बालबालिकालाई सर्भे गरिएको हो, बालबालिकामा लक्षण भएमा दशकपछि रोग निम्तिन्छ, त्यसैले बालबालिकामा सर्भे थालिएको हो ।”

जिल्लामा हालसम्म आठ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइ सकिएको छ भने दुई पटक सर्भे भइसकेको छ । तीन वर्षअघि गरिएको सर्भेमा पनि इलाम हात्तीपाइलेको जोखिममा परेपछि औषधि पुनः खुवाइएको थियो । इलाम र पाँचथरमा गत वर्ष दोहो¥याएर गरिएको ‘प्रि ट्रान्समिसन एसिसमेन्ट सर्भेमा’ एक प्रतिशतभन्दा कममा मात्रै हात्तीपाइले रोगको परजीवी पाइएको थियो ।

छ चरणको आम औषधि सेवन अभियानपश्चात् गरिएको सर्भेमा दुवै जिल्ला विफल भएका थिए । पहिलो सर्भेमा इलाममा छ सयको रगत परीक्षण गर्दा १५ जनामा हात्तीपाइले जीवाणु फेला परेको थियो भने पाँचथरमा छ सयको रगत परीक्षण गर्दा १० जनामा जीवाणु फेला परेको थियो । त्यसपछि दुई चरण आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको थियो । गतवर्ष दोहो¥याएर गरिएको प्रि ट्रान्समिसन सर्भेमा इलाममा छ सयजनाको रगत परीक्षण गर्दा पाँचजना र पाँचथरमा दुईजनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो

इलामका ५० र पाँचथरका ४० विद्यालयमा गरी एक हजार ५५२ विद्यार्थीको रगत जाँचिनेछ । स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर एउटा कीटको सहायताले रगत परीक्षण गर्ने रिमालले जानकारी दिए । “रगत परीक्षणको नतिजा १० मिनेटमै आउँछ”, रिमालले भने, “बालबालिकामा रगत परीक्षण ‘पोजेटिभ’ पाइएमा औषधि सेवन गराइनेछ, सर्भेमा एक प्रतिशतभन्दा बढीमा सङ्क्रमित भेटिए पुनःआम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नेछौँ ।”

Loading...