पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ

स्याङ्जा, २५ भदौ । पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा उत्पादित वस्तुको स्वाद चखाएर पर्यटन व्यवसायलाई आम्दानीको स्रोत बनाउने योजनाअनुसार अगाडि बढेका स्थानीय बासिन्दा यतिबेला पर्यटकको पर्खाइमा रहेका हुन् ।

गुरुङ बस्ती रहेको यस गाउँमा झण्डै ८० घर रहेका छन् भने २५ घरमा होमस्टे घरवास का लागि आउने पर्यटकका लागि बस्ने व्यवस्था मिलाइएको स्थानीय जस्मती गुरुङले बताए । यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित वस्तुबाट तयार पारिएका परिकार खुवाउने गरिन्छ । खास गरेर सखरखण्डको खिर, भुटेको मकै, सेलरोटी, सिस्नु र गुन्द्रुकको अचार, ‘लोकल’ कुखुराको परिकारलगायत खुवाउने गरिन्छ । खाना खाइसकेपछि मनोरञ्जनका लागि गुरुङ संस्कृतिमा आधारित सोरठी, घाटुलगायतका नृत्य प्रदर्शन गर्नुका साथै दोहरी गीत गाएर भरपुर मनोरञ्जन दिलाउने गरिन्छ ।

समुद्री सतहदेखि करीब एक हजार ३०० फिटको उचाइमा रहेको यस सुन्दर घुरुङखाँ मैदान गाउँबाट पूर्वमा लङकाकोट डाँडा र गरौसुर, पश्चिममा चन्द्रकोट डाँडा, उत्तरमा माछापुच्छे अन्नपूर्णलगायतका हिमशिखरको अवलोकन गर्न पाइन्छ भने दक्षिणमा चर्चित अकलादेवी मन्दिरको दर्शन गर्नुका साथै मनोरम दृश्य देख्न सकिन्छ ।

गाउँ छाडेर शहर झर्ने क्रम तीव्र भएपछि गाउँलाई ग्रामीण पर्यटकीय गाउँका रूपमा विकास गर्ने अवधारणाअनुरूप आफूहरु लागेको स्थानीय बासिन्दा बताउँछन् । घुरुङखाँ मैदान गाउँ गुरुङ संस्कृतिका साथै भौगोलिक सुन्दरताले सजिएको हुनाले जिल्ला पर्यटन समितिले ग्रामीण पर्यटकीय गाउँको रूपमा विकास गर्न सहयोग गरेको समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

रोजगारीका लागि गाउँमा भएका युवाहरु विदेशिने क्रम तीव्र भएपछि स्थानीयस्तरमा अर्थोपार्जन गर्ने उद्देश्यले ग्रामीण पर्यटनको अवधारणा अगाडि सारेर यहाँसम्म आइपुगेको स्थानीय मानध्वज गुरुङले बताए । सिर्सेकोट पर्यटन विकास समिति मैदानकी सचिव सीता गुरुङले एक रातको प्रतिव्यक्ति रु एक हजार २०० लिने गरेको बताए । गुरुङका अनुसार एक पटकमा ४५÷५० सम्म पर्यटक राख्न सकिन्छ ।

वडाध्यक्ष दानबहादुर गुरुङले वडाका अन्य स्थान र गाउँलाई पनि पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजनामा आफूहरु रहेको बताउँदै वडाको अधिकाशं भूभागमा रोजगारी सिर्जना गर्न पर्यटकीय गाउँ निर्माणका लागि पूर्वाधारको निर्माण गरिने बताए ।

पर्यटकीय राजधानी एवं गण्डकी प्रदेशको राजधानी पोखरादेखि ७० किलोमिटर र प्रदेश नं ५ को राजधानी बुटवलदेखि करीब ८० किलोमिटरको यात्रा पार गरिसकेपछि सिद्धार्थ राजमार्गको बायाटारीदेखि करीब १० किलोमिटरको ग्रामीण कच्ची सडक पार गरेर सुन्दर घुरुङखाँ गाउँ पुग्न सकिन्छ ।

Loading...