पढ्न नपाएका महिलाका लागि खोलिएको ज्ञानज्योतिमा शिक्षामन्त्री पोखरेल र युवा नेता गगन थापाको जम्काभेट

काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । काठमाडौँको मित्रपार्क चावहिलमा रहेको ज्ञानज्योति महिला विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री पोखरेलले यस्तो जानकारी गराएका हुन् । उनले शिक्षा नीति धेरै विषयलाई दीर्घकालिन उद्देश्यसँग जोडेर ल्याइएको पनि जानकारी गराए ।

विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको ज्ञानज्योति महिला विद्यालय एक नमूना विद्यालयका रुपमा रहेको सो क्रममा मन्त्री पोखरेलले बताए । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेल र पछिल्लो समय युवाहरुमाझ चर्चित नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाको जम्काभेट भयो । यो विद्यालय विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको हो । यस विद्यालयबाट अहिलेसम्म्म २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् ।

हाल २८६ जना विद्यार्थी अध्ययनरत् रहेको यस विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपाललाई शिक्षित मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न ज्ञानज्योति विद्यालयका यस्ता काम सहयोगी हुने दावी गरे ।

सोही कार्यक्रममा बोल्दै सांसद गगनकुमार थापाले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कक्षा ५ का ७० प्रतिशत विद्यार्थीले गणित, अङ्ग्रेजी र नेपालीसमेत सिक्न नसक्ने तथ्य सार्वजनिक गरेकाले गम्भीर हुनुपर्ने समय आएको बताए । मन्त्रालयकै अध्ययनले आमाले स्नातक तहसम्म उत्तीर्ण गरेका बालबालिकाको परिणाम राम्रो पाइएकाले पनि महिला शिक्षा अनिवार्य गरिनुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा रहेका गिरिराजमणी पोखरेल लामो समय शिक्षामन्त्री हुने नेतामध्ये पर्छन । उनकै अग्रसरतामा अहिले नयाँ शिक्षा नीति आएको छ । शिक्षा ऐन पनि प्रस्ताव गरिएको छ । अहिलेसम्मम पञ्चायतकालकै शिक्षा नीति र ऐनले नेपालको शिक्षा चलिरहेको भन्दै आलोचना भइरहे पनि यसअघिका कसैले पनि त्यो नीति र ऐनका सट्टा नयाँ ल्याउन सकेका थिएनन । अहिले ल्याइएको नयाँ शिक्षा नीतिमा अरु सबै कुरा सुधार गर्न सबैभन्दा पहिला शिक्षा सुधार गर्नुपर्नेमा जोेड दिइएको छ । सोही अनुरुप विभिन्न प्रावधानहरु राखिएका छन् ।

त्यसैगरी सांसद गगन थापा विद्यार्थी आन्दोलनबाट उदाएर अहिले युवा कांग्रेसको आशा बनेका छन् । उनी संसद र सडक दुबैतिर आफ्नो खरो अभिव्यक्ति दिएर चर्चामा छन् ।

Loading...