आखिर कृष्ण किन भगवान भए, यस्ता छन अनौठा कारण

सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रूपमा लिइदिनुहुन सादर अनुरोध गर्दछु ।

खोजीको सुरुवात

को हुँ म ? यो प्रश्न बारम्बार मनमा उठ्छ, बारम्बार आफूलाई छाम्ने गर्छु, भित्र धेरै भित्रसम्म चुपचाप गिजोल्ने गर्छु । मेरो मौनता, मेरो मूढता परिवारका सदस्यहरू र साथीभाइहरुको लागि कहिले समस्या बनिदिन्छ । शब्द शब्दको अर्थ खोतल्ने र सत्यको जडमा पुग्ने चाहनामा जब म मौनव्रत साँध्छु तब बाहिरी परतमा अभिमानी देखिन्छु, परिवारको लागि कर्तव्यविमुख । जब भेद खोल्छु, तब सत्य बन्छु । जब कुरा लुकाउँछु तब चूक अन्धकार । त्यहाँ काम, क्रोध, लोभ, मोहले बेरिएको एक पुत्लाबराबर पाउँछु । ज्ञान र चेतनाले अन्धकूपबाट तानेर जब बाहिर निकाल्छ तब परमसत्य परमात्मासमान लाग्दछ ।

कहाँबाट पाएँ यो जीवन ? यो मेरो जीवन हो कि यसको अरू कोही मालिक छ ? के म ईश्वर हुँ या ईश्वरांश ? म यही ब्रह्माण्डको एक सानो अंश हुँ भने क यो ब्रह्माण्डमा निहित सार गुण तथा तत्वहरु मभित्र समाहित छ ? म आत्मा हुँ भने परमात्मासँग साक्षात्कार हुने या एकीकृत हुने अवसर कुन हो ? साधन के हो ? कर्म के हो ?

यो हरेक दिनको यात्राको कतै विश्राम छ कि छैन ? परिवार साथीभाइ समाज र देशप्रतिको कर्तव्यबाहेक मेरो आफूप्रतिको केही कर्तव्य छ कि छैन ? कतै यो यात्रा स्वचालित हो या नियन्त्रित ? स्वचालित हो भने सञ्चालन विन्दु कहाँ छ ? नियन्त्रित हो भने सञ्चालक को हो ? हरेक दिनको यात्राले मलाई कहाँ पुर्याउँछ ? मैले प्राप्त गर्ने लक्ष्य र इच्छित लक्ष्यबीच कति समानता होला ? अन्तिम लक्ष्य या प्राप्ति इच्छित हुनेछ या प्रदत्त ।

यो यात्रा दृश्य छ, अनुभव प्रदायक छ, कष्ट छ, मनोरञ्जन छ । गर्नुपर्ने यात्रा यही हो त ? दृश्ययात्राको लक्ष्य अनुमान गर्न सकिन्छ, प्राप्तिको थोरबहुत पहिचान पनि खुल्छ । जड प्रश्न त जीवन यात्राको लक्ष्य र प्राप्ति के हो त्यो स्पष्ट नहुनु नै हो । पशुले नगर्दा हुन् तर चेतन मानव प्राणी भएको नाताले यो प्रश्न जीवनमा एकपटक त गरिनु नै पर्छ, गर्दै छु पनि, आफैँलाई, प्राप्त सम्पूर्ण ज्ञानका आधारमा । एकपटक मानव जन्मलाई अध्ययन गर्ने हो भने पनि मानव जन्मदाँ अन्य जीव भन्दा निक्कै कमजोर जन्मिन्छ । घोडा जन्मिनेबित्तिकै उभिन सक्छ, मृग जन्मेको केही क्षणमा नै हिँडन सक्छ ।

तर, मानिसलाई बोली फुटाउन त निक्कै समय लाग्छ भने उभिन र हिँड्न त लाग्ने नै भयो । यसरी कमजोर जन्मिएको मानिस नै कालान्तरमा सबै जीवलाई नियन्त्रण गर्नसक्ने भएर निस्किन्छ । बाह्य जगतमा जतिसुकै बलशाली भएपनि आन्तरिक रूपमा मानव कमजोर छ । वास्तवमा मानिसलाई भौतिक र आत्मिक दुवै शक्तिको आवश्यकता परिरहन्छ । आत्मिक शक्तिको लागि नै मानिसले ईश्वरको खोजी गर्दछ । अलौकिक, सर्वशक्तिमान, सर्वदायक शक्तिस्रोतलाई नै मानिसले ईश्वरको रूपमा कल्पना गरेका छन् । वेदअनुसार ईश्वरको गुण छैन, आकार छैन तर मानिसले जब यस्ता गुणयुक्त व्यक्तिको साक्षात्कार गर्छ, तब उसैलाई ईश्वर ठान्दछ ।

मेरो आजसम्मको अध्ययन र तथ्यको आधारमा मलाई यो जगतमा योगेश्वर कृष्ण नै ईश्वरसम भएको एकीन हुन गएको छ । योगेश्वरकृष्ण नै ईश्वरका रूप हुन् भनेर भन्न मैले वेद, उपनिषद्, इतिहास र पुरातत्वीक कुराहरूलाई मात्र आधार मानेको छु, पुराणका लीलाहरुलाई र अतिशयोक्तिपूर्ण कार्यहरुप्रति आँखा चिम्लिएको छु । मैले जब योगेश्वर कृष्णको बारेमा अध्ययन गर्न थालेँ, तब एक स्थानमा आएर मेरो ध्यान अडकियो । वेदले वर्णन गरेको र आधुनिक विज्ञानले व्याख्या गरेको महाविष्फोट सिद्धान्त (बिगब्यांग थिअरी)ले समान व्याख्या गरेको देखेर म अचम्म भएँ ।

नासदासीन्नोसदासीत्तादानीं नासीद्रजो नो व्योमापरो यत ।
किमावररीवः कुहक्स्यशर्मन्नम्भः किमासीद्गहनं गभीरं ।। ऋग्वेद (१०-१२९-१,२)

प्रारम्भमा न सत् थियो, न असत, अंतरिक्ष पनि थिएन, आकाश पनि थिएन, उही मात्र आफ्नै शक्तिले गति शून्य भएर स्थित थिए, यसको अतिरिक्त केही थिएन । के के कहाँ कहाँ थिए कसैलाई थाहा छैन, वेदलाई पनि थाहा छैन, किनभने त्यतिबेला ज्ञान थिएन ।

अर्थात् सम्पूर्ण ब्रह्माण्ड एक विन्दुुमा सङ्कुचित थियो, त्यो महाशक्ति आफ्नै शक्तिले त्यही विन्दुुमा गतिशून्य भएर अवस्थित थियो ।

अब महाविष्फोट सिद्धान्तको व्याख्या हेरौँ । महाबिष्फोट सिद्धान्तका अनुसार पनि यो सम्पूर्ण ब्रह्माण्ड एक विन्दुको रूपमा आफैमा सङ्कुचित भएर बसेको थियो, ऋग्वेदको (१०(१२९(१,२ ऋचाले पनि यही भन्दैछ) । अन्दाजी १० देखि २० खरब बर्षपूर्व बम्हाण्डको सम्पूर्ण कण एकै ठाउँमा एकै विन्दुूमा थियो । अत्यधिक घनत्वका कारण अत्यधिक ताप रहेको हुनुपर्दछ । यही विन्दुू एक महाबिस्फोट भयो र यसका टुक्राहरु एक अर्काबाट टाढिन थाले र आजको ब्रह्माण्डको स्वरूपमा आयो । यसरी महाबिष्फोटबाट ब्रह्माण्डमा छरिएका पदार्थहरु एक समयसीमासम्म बिस्तारित भएर यो पुनः सङ्कुचित हुन सुरुहुन्छ र अन्त्यमा पुनः एक विन्दुूमा बदलिन्छ र फेरि एक महाविष्फोट हुन्छ । संकुचन, विस्फोट विस्तार र फेरि संकुचन पश्चात् विस्फोटको यो चक्र अन्तहिन छ । वेदले पनि यही भन्छ श्रृष्टिको न आदि छ न अन्त्य, यो प्रक्रिया निरन्तर चलिरहन्छ ।

कुण्डलिनी योगले भन्छ, हामी यही ब्रह्माण्डको एक सानो भाग हौ । त्यसैले जसरी एक बीजभित्र एक पूर्ण वृक्षको अवस्था निहित रहन्छ, त्यसै गरेर यस ब्रह्माण्डमा भएका सबै गुणहरू हामीमा निहित छ । तात्पर्य के भने माटोले बनेका भाँडामा माटोको गुण भएझैँ यसै ब्रह्माण्डमा बनेका हामीमा पनि ब्रह्माण्डीय गुण छ । यो गुण पूर्वजदेखि लिएर आगत सम्पूण जीवहरुमा कायम रहनेछ । यस अर्थमा वेद, उपनिषद र विभिन्न विद्वानहरुको मतमा ईश्वर मान्य कृष्णमा पनि यही ब्रह्माण्डीय गुण निहित थियो, जुन गुण ममा पनि विद्यमान छ भने कृष्ण र म मा के भिन्नता छ ? कृष्ण किन ईश्वर र म किन साधारण मानिस ?

म एक साधारण सनातन धर्मवादी हुँ र आफ्नो धर्मको बारेमा अध्ययन गर्ने, तथ्यगत कुराहरूलाई स्वीकार गरेर अगाडि बढनु नै म आफ्नो कर्तव्य ठान्छु । सनातनी धर्मवादीहरुको दुर्भाग्य या कमजोरी के भने यो सुरुवात देखि नै परमत सहिष्णु रही आएको छ । सनातन धर्म या मतवादको आरम्भ निर्णय गर्नु कठिन कार्य हो । सनतानत धर्मको सुरुवाती काल या आदिस्थान वेदलाई नै मान्नु पनि गलत हुन जान्छ । बागमतीको मूल श्रोत त बाग्द्वार नै हो तर बाग्द्वारका लागि आवश्यक अनगिन्ती स्रोतहरू धराभित्र लुकेका छन् । धरामुनि बगेका अनेकन धार मध्ये सुरुवातमा केही खण्डमा कुवा खनियो र पानीले परिचय पायो तर त्यही कुवालाई आदिविन्दुु मान्नु र वेदलाई नै आदिस्थान या आदिकाल मान्नु गलत हुनजान्छ ।

यो त मानव सभ्यताको सुरुवात देखि सहस्र रूपमा समायोजित भएर बग्दै आएको धारा हो । यसैले सनातन धर्मले दविडहरुको शक्तिस्वरुप लिङ्ग पूजालाई पनि आत्मसात गरेर अघि बढेको छ । विगतका विभिन्न कालखण्डमा देखिएका मतहरुलाई पनि आत्मसात गर्दै आएको छ । असल र तर्कपूर्ण हरेक मतलाई आत्मसात गर्ने यो सुहृदयता अन्य कतै देख्न सकिन्न । यसरी विभिन्न मतहरुलाई अन्तरनिहित गर्दै आएको सनाती धर्म वास्तवमा धर्म नभएर दर्शन हो । प्रतेक जीवमा ब्रम्हअंश देख्ने सनातनिहरुले चराचर जगतका सबैलाई पूजा गर्दै आएका छन्, आस्था राख्दै आएका छन् । आस्थाका पछाडि वैज्ञानिक कारणहरू पनि नभएका होइनन्, छन् । ढिलो पात झर्ने र चाँडो पलाउने पिपललाई हामी आस्थाले पानी चढाउँछौँ, काटेमा पाप लाग्छ भन्छौ । हरिया पातले वायुप्रशोधनको कार्य गर्छ र यसको विनासले पर्यावरणिय क्षति हुन्छ ।

आस्था र अन्धविश्वास दुई फरक क्रिया हुन् । वैदिक कालमा संसारभर मानवको गणना तेत्तिस कोटि भएकोले नै हरेकलाई ईश्वर अंशयुक्त देवता मानिए र तेत्तिसकोटि देवाताको कुरा आयो तर क्रमगत रूपमा कसैले तेत्तिसकोटि देवताको नाम उल्लेख गरेनन् । यो आस्था हो सनातनिहरुको । ढुङ्गाको मूर्ति या आकृतिमात्रलाई शक्ति पीठ (आफै उत्पन्न भएका पीठ) या सिद्ध पीठका (प्राणप्रतिष्ठा गरी स्थापना गरिएका पीठ) रूपमा आस्था राख्छन् । भक्तलाई भगवान्सँग जोडने या आस्था प्रकट गर्ने कुनै साधन चाहिन्छ र यी पीठहरु साधनका रूपमा प्रयोग भएका छन् मनतुष्टिका लागि । तर यिनै पीठका कुनै मूर्तिले दूध पिएको कुरा सुनेर दूध चढाउनु भनेको अन्धविश्वास हो ।

ईश्वरको बारेमा बोध गराउन इतिहासका कालखण्डमा विभिन्न कृतिहरु आए, विभिन्न ब्याख्याहरु भए । यहाँ पनि परमत सहिष्णुताको गलत उपभोग गरेर बदमासी गरिएको छ । पुराणमा लिला लेखन गर्दा धेरै नै अतिशयोक्तिपूर्ण ब्याख्याहरु र तथ्यहिन महिमा वर्णनको कार्य ऋषिमुनिहरुले गरेका छन् । तथ्यहिन ती व्याख्या र महिमा वर्णनहरु अदूरदर्शि, अविवेकी र असरको ख्याल नगरिकन गरिएको छ । योगेश्वर श्रीकृष्णको रासलिला वर्णन र राधाकृष्ण प्रेम वर्णन यसका उदाहरण हुन् । यस्ता तथ्यहिन कुराहरूले अहिले आएर अन्य धर्मकाहरुलाई औँला उठाउन सजिलो भएको छ । गुलाफमा काँडा पनि हुन्छ र लाइ पनि लाग्छ । अविवेकीहरु सनातन धर्मको दर्शन बुझ्ने चेष्ठा गर्नुको साटो यस्तै कुराहरूमा व्यङ्ग्य गर्छन् । आगोको धर्म जलाउनु हो, हिउँको धर्म चिस्याउनु हो, सूर्यको धर्म प्रकाश छर्नु हो, चन्द्रको धर्म शितलता प्रदान गर्नु हो ।

वस्तु र व्यक्तिको गुणलाई नै धर्म ठान्ने र जन्मदेखि मृत्युसम्मको कामकारवाहीलाई सङ्कलन गरेर नयाँ धर्मको ठोकुवा गर्नेहरुले सनातन धर्ममा भएको अध्यात्म र दर्शनको एक अंश पनि देखाउन सक्दैनन् । बहुजन हिताय बुहजन सुखाय, जीवहिंसा पाप, परोपकार पुण्यायः जस्ता प्राथमिक दर्शनको ज्ञान लिन जिजस क्राइस्टले १३ वर्ष देखि २९ वर्ष सम्मको १६ वर्ष नालन्दा तक्षशिला बनारस र तिब्बतमा अध्ययन गर्दै बिताएका थिए । योग दर्शन, सम्मोहन सबै सनातन धर्मबाटै ग्रहण गरेका थिए । फिर्ता गएर ज्ञान त फैलाए तर कागजको फूलमा सुगन्ध नभए जस्तै त्यसमा पनि अध्यात्म र दर्शनको सुगन्ध भने बिलुप्त नै छ । सनातन धर्ममा भएको अथाह अध्यात्म र दर्शनको भेउ पाउन के सकुन र जाबो एक जन्ममा । थोरबहुत ज्ञानको आधारमा नै भनिदिए, म ईश्वरको पुत्र हुँ ।

किन योगेश्वरकृष्णले जस्तो म नै ईश्वर हुँ भनेर घोषणा गर्न सकेनन् ? आज यिनै पश्चिमाहरु तिमी ईश्वरको पुत्र हौ भने “हु इज द फादर ?“ भनेर बाउको खोजीमा भटकिरहेछन् भने इसाइ धर्म सनातनि धर्मको ऋणी भएको छ । उऋण हुन त बाउ देखाउन सक्नु र्पयो र यो बाउ देखाउने सामथ्र्य जुटाउन फेरि यतै सनातन धर्मको शरणमा आउनु पर्छ, यतै खोजी गर्नु पर्छ र खोजीको आधार अन्य केही नभएर सनातनि धर्म नै हुनेछ । सृष्टि उत्पत्तिका कथाहरू त पुराणबाटै लिएका छन् भने बाउ लिन त यता नआई धरै छैन भने यो नोटको फोटोकपिले बजारमा सामान किन्न खोज्नु बराबर भएन र ? आफू अनुकूल ‘ओल्ड टेस्टामेन्ट’ र ‘न्यू टेस्टामेन्ट’को नाममा फेरबदल गरिरहने बाइबलले आफूलाई प्राचीन सिद्ध गर्न खोज्नु जस्तो भागिरथ प्रयत्न नभए अरू के होला र !

ऋषिहरुले वेदपछि उपनिषद, पुराण आदि अनेकन शास्त्रहरुको रचना गरे, आफ्नो सत्ता र महिमा प्रमाणित गर्नको लागि ईश्वरको रूप, रास र महिमा वर्णन गर्दागर्दै यतिसम्म लेखिदिए कि राम्ररी मनन गरेर पढनेहरुको आङ जिरिङ्ग हुन्छ । पुराणमा वर्णित देवताहरुका ती कार्यहरू स्तुतिका लागि लेखिएका हुन् या ती कार्यहरू देवताका पुरुषर्थका रूपमा वर्णित गरिएका हुन् त्यो स्पष्ट खुलेको त छैन तर अति सर्वत्र वर्जयेत् भनेझै ती कार्यबाट सामान्यजनमा पर्नजाने असर र स्वयम् देवताकै महिमा खण्डित हुनजाने कुरामा हेक्का नै राखेनन् । लेखन कार्यको परिणाम र असरप्रति बिल्कुलै आँखा चिम्लेर अतिरञ्जित तरिकाले मनमा जे आयो त्यही लेखिदिए ।

ऋषिहरुको विकृत मानसिकताका उपजहरु

पुराणहरुमा उल्लेख गरिएका कतिपय श्लोक तथा कथाहरुले भगवानको महिमा या स्तुति गायन गरेको नभएर चरित्र हत्या गरेका छन् । मनमा आएका कुरालाई त्यसबाट पर्ने असरको ख्याल नै नगरेर लेख्ने यी महापण्डितहरुका कारणले नै सनातन धर्म बदनाम भएको छ । त्यसैले हिन्दू धर्म कहिल्यै फष्टाउन सकेको छैन किन भने धर्मको मर्म व्याख्या गर्नुको सट्टा अनावश्यक ईश्वरको रचना गरेर र अनेक पुराण बनाएर साधारण मानिसलाई दिग्भ्रमित पार्दै उल्लु बनाउने मात्र कार्य गरे यी पण्डितहरुले ।

पहिलो गरुड पुराणलाई लिऊँ । ब्राह्मणवादको अन्त्यका लागि प्रयत्नशील, कर्मकाण्डका विरोधी महामानव बुद्धलाई गरुड पुराणमा दशम अवतार घोषित गरेर बुद्धलाई सनातनि र दर्शनलाई हाँगाको रूपमा दर्साउनु मूर्खता बाहेक अरू केही होइन् । दोस्रो कुरा आमा बाबुको मृत्युमा किरिया बसेका किरियापुत्रीहरुको भावनालाई बहकाउनु, मानसिक डर, त्रास देखाएर धर्म र दानको नाममा दानका लागि बाध्य पार्ने खालका वर्णन र धुत्ने चतुर्याईँ पस्किएको गरुड पुराण सुनदा लाग्छ धर्मममा यो भन्दा घृणित कार्य हरू के होला ! के दानको हकदार ब्राम्हण मात्र हुन्, अरू होइनन् ?

धर्म अर्थात् समयानुकूल सत्य मार्गमा आफूलाई डोर्याउने कार्य समय सापेक्ष बदलिन्छ । धर्म अर्थात् व्यक्तिगत आचरण पनि समय अनुसार बदलिनुपर्छ । अन्य पुराणहरुमा पनि अवस्था त्यस्तै छ । साधारण मानिसको कल्पनामा रहेको ईश्वर नैतिक र चरित्रवान हुन्छ । तर यी पण्डितहरुको रुग्ण मानसिकता र एकले अर्काको लेखनीमा हस्तक्षेप या औँला नउठाएको हुँदा मनोमानी बढदै गयो र ईश्वर चरित्रलाई रसातलमा पुर्याईएको छ । यी सठ लण्ठुवाहरुले कसरी आफैले ईश्वर भनेकाहरुको महिमा मर्दन गरेका छन्, केही उदाहरणहरू हेरौँ ।

१. के महादेवले साँच्चै ७० वर्ष उमेरको रूप धारण गरेर ७ वर्षकी गोमा बाम्हणीसँग बिहे गरेका थिए त ? ल थिए भने पनि गोमाको दोष या पाप के ? कि छोरा गणेशको भक्त भएर गोमाको पिताले आशीर्वादमा पाएको सुखबाट महादेव विचलित भए ? कि आफ्नो भन्दा छोराको ख्याती बढ्ला भनेर चिन्तित भए ?

२. सुनसेफलाई बलिको लागि किनेको लेखेर के नर बलिको थियो भन्न खोजेका हुन् ?

३. अहिल्या, तारा, द्रौपदी, कुन्ती, मन्दोदरी, यी पन्चकन्याको नाम बिहान लिने वित्तकै पाप नास हुन्छ । यदि यस्तो हो भने सीताको नाम किन आएन ?

४. “कुष्मांडं महिषीक्षीरं विल्वपत्रं मगव्दिजम् । चत्वार्येतानि वस्तूनि श्राद्धेषु परिवर्जयेत् ।“
कुम्ले, भैँसीको दूध, बेलपत्र र शाकव्दिपको ब्राम्हणलाई श्राद्धमा आउन नदिनु । भगवान् शिवलाई प्रिय र अति चढने बेलपत्र के ब्राम्हणले भन्दैमा श्राद्धमा छिर्नै नहुने त ? शकव्दिपको ब्राम्हणलाई छिर्न नदिनुको तात्पर्य के ?

५. के समुन्द्र मन्थन हुँदा विष्णुको मोहिनी रूपमा लठ्ठ परेर महादेव पछि पछि दौडेका थिए ? के त्यसरी दौडिँदा महादेवको वीर्य स्खलीत भएको थियो त ? यो भोलेनाथको महिमा वर्णन कि उछित्तो कढाई ?

६. के पुराणअनुसार ब्रम्हाजीले आफ्नै पुत्री सरश्वतीसँग अनुचित सम्बन्ध कायम गरेर श्रृष्टि गरेका हुन् त ? के चन्द्रमाले आफ्नै गुरु बृहस्पतीकी पत्नी तारालाई बलपूर्वक राखेका थिए त ? गुरुपत्नी माताबराबर मानिन्छ ।

अझ यो भन्दा पनि घीनलाग्दो उदाहरण हेरौँ –

१. “यूयं विवस्रा यदपोधृतव्रता व्यगाहृृतैतत्तदुदेवहेलनम्।
बद्धाञ्जलिमूध्न्र्यपनुत्तर्येहसः कत्वा नमोधोवसनं प्रगृह्याताम् ।”

“हे गोपिनीहरु तिमीहरुले नांगै भएर जल भित्र नुहाएर अनुचित र्गयौ र बरुणको अपमान भयो । अतः दुवै हात शिर माथि जोडेर र सोही अनुसार झुकेर प्रणाम गर ।”

यो भन्दा घृणित कुरा अरू के होला र ! गोपिनीहरुलाई प्रणाम गर्न लगाउँदाको दृश्यको कल्पना सहजै गर्न सकिन्छ । के कृष्ण गोपिनीहरुका प्रतेक गोप्य अंगहरु हेर्न लालायित भएकोले यस्तो आदेश दिएका हुन र ! अर्को कुरा महिलाहरू नुहाउँदै गरेको पोखरीमा कुनै सभ्य पुरुष जाँदैन र यदि बाटो परेको खण्डमा बाटो बदल्दछ । कतै यो योगेश्वरकृष्णलाई असुर ठानिएको बाँकी तूष त हैन ?

२. “कुकुभ्दि कन्या वक्तान्तर्वास लब्धादिवासया
मुखामोदं मदिरया कृतानुव्याधमुव्दमन् ।”

यहाँ पनि स्थिति त्यस्तै छ । श्रीकृष्णका दाजु बलरामले राजा कुकुभ्दिको छोरी रेवतीको मुखबाट निस्केको रक्सीको कूल्ला आनन्दसँग पिए । के यस्तो सम्भव छ ? यहाँ त आफूले प्रत्यक्ष देखेझैँ गरेर वर्णन गरिएको छ ।

माथिका यी उदाहरणले के प्रस्ट पार्दछ भने ऋषीहरुले स्वार्थ सिद्धिको लागि या उनीहरूको लेखनिमा कुनै अंकुश नभएको हुँदा नै यस्ता कुराहरू लेखे, जसको कुनै महत्व र तुक छैन । यो अरू केही नभएर ऋषिहरुको विकृत मानसिकताको उपज मात्र हो । यस्ता कुराहरूलाई मान्नु भनेको आफैलाई मूर्ख घोषित गर्नु र अनधविश्वासी बन्नु बाहेक अरू केही हैन ।

अर्को कमजोरी के देखिएको छ भने आफना अध्यात्म र दर्शन प्रतिकूलका मान्यतालाई तटस्थ रहन दिन पनि नसक्ने र स्विकार्न पनि नसक्ने अवस्थामा त्यसलाई एकाधार या एक अङ्गको रूपमा आफैभित्र बलजफति समाहित गर्ने कोशिश गरिएको छ । ब्राह्मणवादको अन्त्यका लागि प्रयत्नशील, कर्मकाण्डका विरोधी महामानव बुद्धलाई गरुड पुराणमा दशम अवतार घोषित गरेर बुद्धलाई सनातनी र दर्शनलाई हाँगाको रूपमा दर्शाउने कोशिश पनि हास्यास्पद देखिन्छ । तर यो पहिलो पटक भएको भने होइन । योगेश्वर कृष्णको ज्ञान, चरित्र, र आभामण्डल यति विस्तृत थियो कि जसरी वेदमा असुर र अनार्यको व्याख्या गर्दागर्दै तेजोमय कीर्तिधारी योगेश्वर श्रीकृष्णलाई उपनिषददेखि यता अवतारका रूपमा स्विकारिएको छ ।

गीतामा ब्राह्मणवादलाई बलियो बनाउन योगेश्वरकृष्णले भनेको भनेर जे कुराहरू राखिएको छ ती सत्यभन्दा परका कुरा हुन् । कालो, अवर्ण असुर दानव आदि नामले वेदमा उल्लेख गरिएका कृष्ण वर्णब्यबस्थाका समर्थक हुनै सक्दैनन् । हरेक आत्मालाई ईश्वरांश मान्ने कृष्णले वर्ण व्यवस्थालाई मानेर ब्राम्हणलाई उच्च र सुद्रलाई नीच या पाप योनी भने होलान् भनेर विश्वास त के कल्पना समेत गर्न सकिँदैन ।

“जातिब्राह्मणं इति चेत् तहिं अन्य जातौ समुभ्दवा बहवो महर्षयः सन्ति । ऋक्ष्य ऋगो मृग्यां जातः कौशिकः कुशस्वंवात् गौतम्ः शशपृष्ठे वाल्मीकिः वल्मीक्र्या व्यासःकैवत्रत कन्यायां पराशरश्चाण्डालीगर्भोत्पन्नः वशिष्ठो वेश्यायां विश्वामित्रः क्षत्रियां अगस्त्यः कलसाज्जातः मांडव्यो मांडुकि गर्भोत्पन्न नारदो दासीपुत्रः इति श्रूयते पुराणे । तेषां जाति विनापि सम्यग् ज्ञानविशेषद् ब्राह्मत्यंत्यं स्वीक्रियते, तस्माज्जात्या ब्ब्राम्हणो न भवत्येव ।

यी आफ्नै जन्म र थाँतथलोको नै कुनै टुंगो नभएका ऋषीहरुले गरेका घृणित कूबर्णनहरु पढदा क्षोभ भएर आउँछ । यस्ता घृणित कुराहरू कसरी लेख्न सके होलान् उदेक लागेर आउँछ । हामी यदि आफूलाई सनातनी धर्मका अनुयायी र पालक हौ भनेर भन्छौँ भने यस्ताकुराहरु उपर छानबिन गरेर, चर्चा चलाएर र एकअर्कालाई यो असत्य र झूठो हो भनेर जानकारी दिँदै जानुपर्छ र यस्ताकुराहरु लेखिएको ग्रन्थहरुलाई या त परिमार्जित गर्नु पर्छ या त्याग्दै जानुपर्छ भन्ने मेरो धारणा छ ।

मेरो व्यक्तिगत अनुभवमा हामी चिन्तन र बिचारको कार्यमा निक्कै सुस्त छौँ । सकभर यो कार्य गर्न नपरे हुन्थ्यो भनेर पन्छन्छौँ या एकाध मात्र यस कार्यको लागि राजी हुन्छन् । त्यसैले चिन्तनको भार शास्त्र र ऋषिहरुलाई सुम्पन्छौँ र बिचारकार्यको भार गुरुवर्गहरुलाई । हामी केवल तिनिहरुहका बचनामृत पिउँदै धन्य महशुश गर्दछौँ । तर्क वाद विवादका लागि कुनै स्थान रहँदैन । ऋषि र गुरुका बचन ब्रम्ह बचन हुन्छन् जबकि समय सापेक्ष नभएका कतिपय पुरातन कुराहरूलाई पनि हामी गाँठो बाँधेर झुण्ड्याइरहन्छौँ । शून्यफलको यो बोझ कति सम्म बोक्ने हेक्का राख्दैनौँ ।

धर्मको नाम सुन्नेबित्तिकै हाम्रो सोचमा पक्षघात पर्छ । यसको विरुद्धमा एक शब्द निस्कँदैन । निस्कोस कसरी ? विरोधमा बोल्न केही ज्ञात भए पो । पण्डित या गुरुले संस्कृतका श्लोकको जे अर्थ लगाइदिए या बताइ दिए ती नै ब्रह्म वचन । गलत छुट्याउन अध्ययन गर्ने जाँगर खै र ! आँखामा पट्टि बाँधेर हामी चमत्कारमा मुग्ध हुन्छौँ, जादुगर र चटकीलाई समेत साक्षात ईश्वर देख्न थाल्दछौँ । हाम्रो मोहलाई चटकीहरु मज्जाले उपभोग गर्छन् र आफ्नो नामको अगाडि ॐ समेत राखी दिन्छन र मन्त्र बनाउँछन्, ॐ साइराम । सनातनी हिन्दु धर्मको यस्तो गलत अपचलन रोक्ने कसले ? हजारौँ वर्षदेखि चलिआएको सनातन धर्म यतिवेला प्युरिफाइड भएर कन्चन हुनु पर्ने, आरपार देखिने संशयरहित हुनुपर्ने ।

तर, भएको छ उल्टो । धर्मलाई पनि धन्दा बनाउने लण्ठुवाहरु र तिनलाई आँखा चिम्लेर मान्ने महालण्ठुवाहरुको जमात कम भए पो । उल्टो ठूलो धनसम्पति दान गर्छन्, बाबा र स्वामीका लागि सुनका सिंहाशन बनाउँछन् । मानिस सारा संसारलाई ढाँट्न सक्छ आफैलाई ढाँट्न सक्दैन । आफ्नो कूकर्मको ज्ञान र भेदको डरले सदा पोलिरहेकै हुन्छ । थोर बहुत मनसन्तोषको लागि एकाध लाख दानदातब्यको ठण्डक दिन खोज्छन् जलिरहेको आत्मालाई । भरदिन मजदुरी गर्नेको मनमा किन यी लण्ठुवाहरुप्रति श्रद्धा या विश्वास छैन ? कारण यही हो । न कुनै पाप, न पापको डर । अझ बाँडिएको र भाँडिएको मानसिकता देखेर अचम्म लाग्छ । मन्दिर धाउनु र लण्ठुवाहरुलाई मान्नु त छँदैछ, गएर दरगाहमा ओढने चढाउँछन्, चिहानमा घुँडा टेक्छन् ।

के यो सहिष्णुता नै हो त ? यसलाई सहिष्णुता भन्दा आत्मदुर्बलता भन्दा उपयुक्त होला र यो आस्था र अन्धविश्वास भन्दा पनि डरलाग्दो अवस्था हो । आस्थामा हामी हृदयको गहिराईबाट साँचो रूपमा पत्थरको मूर्तिमा ईश्वरको परिकल्पना गर्छौँ र प्रार्थना गर्दछौँ तर त्यही मूर्तिले दूध पिएको चर्चामा विश्वास गरेर दूध पिलाउन जानु कोरा अन्धविश्वास मात्र हो । आस्था मानिसलाई बाँच्ने प्रेरणा दिन्छ, हृदयमा एकप्रकारको सुखानुभुति दिन्छ, जीवनलाई व्यवस्थित र अनुशासित बनाउँछ ।

वास्तवमा कृष्णलाई नै ईश्वर मान्नु सनातन धर्मअनुसार अनुचित हो । राजनीति, धर्म, दर्शन, योग, ज्ञान आदिका पूर्णज्ञाता कृष्ण जस्ता ईश्वरतुल्य व्यक्ति भएकाले नै उनलाई पूर्णवतार मानिएको छ । कृष्ण जस्ता पूर्णवतार यस संसारमा न पहिले अरू कोही भए न हुन सम्भव नै होला । मेरो बिचारमा उनलाई पुजेर मात्र बस्नु पनि कथित् धर्म मानव चरित्र होइन्, अपितु उनको मार्गदर्शनमा जीवनलाई अघि बढाउनु नै स्वहित र मानव कल्याणको लागि हितकारी हुन्छ । गीतामा व्यक्त गरिएका कतिपय वाणीहरु अहिले समय सापेक्ष छैन, तसर्थ तिनलाई परिमार्जन गुर्न आवश्यक छ । भीष्मले आफ्नो वचनबद्धतालाई धर्म ठाने तर यसबाट उत्पन्न हुन गएको अनुकूल परिस्थितिको मूल्याङ्कन गर्दा त्यो धर्म नभएर हठ मात्र देखिन्छ ।

धर्म अर्थात् समयानुकूल सत्य मार्गमा आफूलाई डोर्याउने कार्य समय सापेक्ष बदलिन्छ । धर्म अर्थात् व्यक्तिगत आचरण पनि समय अनुसार बदलिनु पर्छ । भीष्मले बाबुको लागि गरेको त्याग कार्य बाबुको कालमा धर्म भएको थियो भने पनातीको कालमा आएर यही त्याग कार्य धर्म रहेन, उल्टो महासंग्राम र हिंसाको कारण बन्यो । कामपीडाले दग्ध युवतीको अनुरोधमा उनको क्षुधा शान्त पार्नु पहिले पुण्यको कार्य भए पनि अहिले त्यसलाई व्यभिचार भनिन्छ । यही नै धर्मको प्रकृतिमा आउने बदलाव हो । कृष्णले भन्नु भएको छ, समयानुसार धर्मको प्रकृतिमा बदलाव आउँछ । यसैले यहाँ मेरो प्रयास तथ्यगत रूपमा अनुसन्धान गर्दै र पुराणहरुमा वर्णन भएको अतिशयोक्तिपूर्ण कुराहको पनि खण्डन गर्दै ईश्वरतुल्य श्रीकृष्णको बारेमा तथ्यगत जानकारी दिने प्रयास गर्दै कृष्ण किन योगेश्वर? भन्ने प्रश्नको उत्तर दिने पनि हरसम्भव प्रयास गर्दैछु ।

श्रीकृष्णको जन्म, इतिहास र पुरातत्व

हिन्दु धर्मको ऋग्वेद र जर्थु्रस्त्रि धर्मको अवेस्था लगभग एकै समयका प्राचीन पुस्तकहरू हुन् । यी दुवैमा आर्य जातिको बारेमा उल्लेख भएको छ । ऋग्वेद कालमा इन्द्रको पूजा गर्ने आर्यहरु १८०० ईं.पू.बाट ससानो डफ्फाका रूपमा भारतबर्षमा प्रवेश गरेको देखिन्छ । श्वेत वर्णका सुरा पान गर्ने आर्यहरुले आफूलाई सुर र अन्यलाई असुर भनेर सम्बोधन गरेको देखिन्छ । आर्यहरुले जोसँग युद्धरत थिए तिनलाईकालो जातिका रूपमा उल्लेख गरिएको छ । ऋग्वेदमै भगवान् श्रीकृष्णलाई कालो वर्णको असुरका रूपमा वर्णित गरिएका छ । इन्द्र तथा कृष्णको शत्रुताको बारेमा ऋग्वेद मंडलको सूक्त ९६ को १३,१४,१५ र १७ श्लोक पढेमा छर्लङ्ग हुन्छ । श्लोक १३ को भावार्थ यस प्रकार रहेको छ, “तेज गति भएका दशहजार सेना साथमा लिएर हिँडने कृष्ण नामक असुर अंशुमती नदीको किनारमा रहन्थे । ज्यादै कराउने उक्त असुरलाई इन्द्रले आफ्नो बुद्धि लगाएर खोजे र मानव (सुर, आर्य) हितको लागि सबैको नास गरे ।“

ऋग्वेदमा उल्लेख गरे अनुसार नै भगवान् कृष्णको रङ्ग कालो थियो, गोपालक थिए र अंशुमती (यमुना) नदी को किनारमा निवास गर्थे र गोबर्धन गुफा आश्रयस्थल थियो । यसै गरेर ऋगवेदकै एक छन्दमा भगवान् श्रीकृष्णलाई गोउद्धारक र गोस्वामी उल्लेख गरिएको छ ।

ऐतिहासिक अध्ययनको आधारमा भगवान् श्रीकृष्णको जन्म ई.पू. १५०० मानिन्छ । भगवान् श्रीकृष्ण लगभग १०० वर्षको आयु भन्दा केही अधिक वर्ष जीवित रहे । मोहनजोदाडो उत्खनन गर्दा एक भितेचित्रमा दुई बृक्षको बिचमा एक बालक उभिएको चित्र भेटिएको थियो । यस चित्रलाई भगवान् कृष्णव्दारा यमलार्जुनको उद्धारको कथासँग जोडेर हेर्ने हो भने भगवान् कृष्णको जन्म ३१०२ देखि ४५०० ई.पू.लाई मान्न सकिन्छ ।

पुरातात्विक आधारमा भगवान् श्रीकृष्णले प्रयोग गर्ने हतियार चक्रलाई लिन सकिन्छ । चक्रलाई अत्यन्त धारयुक्त पारम्परिक हतियारका मानिन्छ र बुद्ध युगभन्दा अगाडि नै यसको प्रयोग बन्द भएको थियो ।

भगवान् श्रीकृष्णले निर्माण गर्नुभएको व्दारकापुरी सौराष्ट्र्रको पश्चिम समुद्र किनारमा अजा पनि डुबेको अवस्थामा छ । यहाँ गरिएको सोध तथा उत्खननबाट प्राप्त सामानहरू पनि ३००० वर्ष पूर्वको मानिएको छ । बेलायतमा कार्यरत शोधकर्ताहले खगोलिय घटनाहरू, पुरातात्विक तथ्यहरू र महाभारतमा वर्णित १५० खगोलिय घटनाहरूको आधारमा महाभारत युद्ध २२ नोभेम्बर ३०६७ ई.पू. मा भएको धारणा व्यक्त गरेका छन् । यस आधारमा त्यसबेला भगवान् श्रीकृष्णको उमेर ५५(५६ वर्ष निक्र्यौल गरिएको छ । समुन्द्रमा डुबेको व्दारकापुरीबाट निकालिएको सिक्कामा कृष्ण बलरामको आकृति भेटिनु र ग्रीक राजा हेलिडोरसले कृष्णलाई दिएको सन्मानको पुरातात्विक सबुतको आधारमा समेत भगवान् कृष्णको अस्तित्व कल्पना नभएर सत्य भएको प्रमाणित गर्दछ ।

योगेश्वर श्रीकृष्णको शिक्षा

योगेश्वर श्रीकृष्णले उज्जैन (आवन्तिपुर)मा महर्षि सान्दीपनिको आश्रममा गएर उनलाई गुरु मानेर ६४ दिन आश्रममा बसे र उनै महर्षि सान्दीपनीबाट वेद, योग र ६४ कलाको शिक्षा लिएर यसमा पारंगत भएका थिए । योगेश्वरश्रीकृष्ण बाहेक ६४ कलामा पारंगत आजसम्म कोही भएका छैनन् । ६४ कलामा पर्ने कलाहरु मध्ये प्रमुख कलाहरु यस्ता छन्स् नृत्य, वाद्य, गायन, नाट्य, इंद्रजाल, नाटक आख्यायिका रचना, चित्रकारी, पुष्पाश्रृंगार, सुगन्ध निर्माण, बेताल वशिकरण, बाल मनोरञ्जन, म्लेक्षकाव्य ज्ञान (विदेशी भाष ज्ञान), मन्त्रबिद्या, छद्यभेष धारण, ओषधोज्ञान आदि । अर्थात् यस पृथ्वीमा जति पनि कार्यहरू हुन्छन्, ती सबमा दक्ष थिए योगेश्वर श्रीकृष्ण ।

कृष्ण कृषि विद्यामा पनि निपूर्ण थिए । उनले आफ्नो कौशलले यमुनामा बाँध बाधेर यमुनालाई बृन्दावन नजिकैबाट बगाएका थिए ।
महर्षि आंगिरसबाट योगेश्वर श्रकिृष्णले कमरुप यज्ञ उपासनाको शिक्षा लिएका थिए । उक्त शिक्षा पश्चात् योगेश्वर श्रीकृष्ण तृप्त अर्थात् पूर्ण पुरुष भएका थिए । योगेश्वर कृष्ण अष्टसिद्धियुक्त थिए । योगव्दार प्राप्त हुने यी आठ सिद्धिहरु क्रमशः अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य इशित्व र वशित्व हुन् । भागवत, महाभारत तथा पुराणहरुमा वर्णित योगेश्वर श्रीकृष्णको लीलाहरुमा यिनै सिद्धिहरुका कारणले कार्यसम्भव भएको दर्शाईएको छ । योग साधनाव्दारा यी अष्टसिद्धि प्राप्ति पश्चात् सम्भव कार्यहरूको निम्न छन् :

अणिमा : सूक्ष्म रूप धारण गर्न सक्ने क्षमता
महिमा : विशाल रूप धारण गर्नसक्ने क्षमता (विराट रूपको श्रोत)
लघिमा : वामरूप धारण गर्नसक्ने र उड्नसक्ने क्षमता
गरिमा : वजनदार रूपधारण गर्न सक्ने क्षमता
प्राप्ति : अभिलाषित वस्तु प्राप्त गर्नसक्ने क्षमता
प्राकाम्य : सोचेको कुरा पुरा गर्नसक्ने क्षमता
ईशित्व : यस सिद्धिबाट दैवीय शक्ति प्राप्त हुन्छ, मरेकोलाई व्युँताउने क्षमता आउँछ (परिक्षितलाई जीवनदान यसै सिद्धको प्रयोगले दिएका थिए )

 

Loading...