तनहुँ तुइन रहित

दमौली, ५ भदौ । तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो ।तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गरे ।

सोही घोषणाबमोजिम जिल्लामा प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेका छन् । गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिकल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।

एकसय २० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत भएको थियो ।जिल्लाका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको जिल्ला

समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। उनका अनुसार अन्तिम तुइन विस्थापित गर्ने क्रममा बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेमा सेती नदीमाथि झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सङ्घीयता कार्यान्वयनपछि जिल्ला प्राविधिक कार्यालय खारेज भएका कारण उक्त निर्माणाधीन झोलुङ्गे पुलको प्राविधिक सहयोग नवलपुर जिल्लास्थित जिल्ला पूर्वाधार कार्यालयले गरिरहेको छ । “तुइनमार्फत यात्रा गर्दा धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ”, जिल्ला
समन्वय समिति तनहँुका प्रमुख वाग्लेले भने, “तुइन विस्थापित गरी झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई सहज भएको छ ।”

जिल्लास्थित देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी, सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी, सोही गाउँपालिकाको गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालीगण्डकी नदी तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेतीमादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताए ।

देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेतीनदीमा जिल्ला प्राविधिक कार्यालयले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तुइनका कारण यात्रामा हुने जोखिम झोलुङ्गे पुलले हटाएको बताए । “सबैभन्दा बढी तुइन देवघाट गाउँपालिकामा विस्थापित भएको छ”, उनले भने “झोलुङ्गे पुल बनेपछि सर्वसाधारणले सुरक्षितरुपमा आवातजावत गर्न पाएका छन् ।”

Loading...