ट्रम्पले चीनविरुद्ध गरेको निर्णयले अमेरिकी कम्पनी एप्पल सबैभन्दा बढी मारमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि लगाउने घोषणा गरेको १० प्रतिशत सीमा शुल्क (टेरिफ) का कारण आइफोन निर्माता कम्पनी एप्पललाई ठूलो नोक्सानी हुने देखिएको छ ।

राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर १ देखि लागु हुने गरी अमेरिका आयात हुने बसै चिनियाँ सामानमा १० प्रतिशत सीमा शुल्क थप गर्ने घोषणा गरेका हुन् । चीनसँगको व्यापार युद्ध बढ्दै गएका बेला ट्रम्पको पछिल्लो घोषणाले एप्पल मारमा पर्ने देखिएको बैंक अफ अमेरिकाका एक विश्लेषक मेरिल लिन्चले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

नयाँ सीमा शुल्कले आइफोनको वार्षिक आयमा कमी आउने देखिएको ब्रोकर एजेन्सी मेरिल लिन्चले उल्लेख गरेको छ ।

नयाँ सीमा शुल्क लागु भएपछि एप्पलले आइफोनको मूल्य १० प्रतिशतले बृद्धि गर्न सक्ने र त्यसले गर्दा आइफोनको माग २० प्रतिशत कम हुने अनुमान गरिएको छ । २० प्रतिशत आइफोनको माग कम हुनु भनेको झण्डै एक करोड आइफोनको माग घट्नु हो ।

एप्पलले चीनमा यो वर्षको सुरुमा आइफोनको मूल्य कम गरेको थियो । तर अब बढाउनु पर्ने देखिएको छ । आइफोनको निर्माण कम्पनी चीनमा छ र त्यहाँबाट बनाएर अमेरिका लगिने आइफोनमा पनि सीमा शुल्क लाग्ने छ ।

पछिल्लो त्रैमासिकमा आइफोनको बिक्री विश्वव्यापी रुपमा १२ प्रतिशतले कमी आएको देखिएको छ।

Loading...