आफू नाङ्गै, पातलो लुगा लगाएको भन्दै अरुलाई कुरी कुरी !

सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना शुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै ईतिहासमा भारतबाट आउने तरकारी को विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर आकाशै खस्न लागेजस्तो गरी पार्टीभित्र र बाहिर होहल्ला मच्चाईदैछ । जनविरोधी कित्ताबाट प्रहार हुँदा सरकारको डटेर प्रतिरक्षामा उत्रनु पर्नेमा पार्टीभित्र “चिलाएको ठाउँमा कन्याएको” मज्जा लिईदैछ । निःसन्देह, यो दुई जनताको अभिमतमाथिको हाँसीमजाक हो । जनताको सार्वभौमिकतामाथिको खिसी टिउरी हो ।

भन्न परोइन, वर्तमान सरकारको जग र विगतका सरकारको जग विलकुल फरक छ । केही अपवादलाई छोडेर विगतका अधिकांश सरकारहरुको जग अत्यन्त कमजोर थियो । नेपाली जनताले भोट दिएर बनेका भए पनि यो आफूले बनाएको सरकार हो भन्नेमा अन्यौल हुन्थ्यो । सरकार बनाउने कामको विभिन्न अन्तराष्टिय शक्ति केन्द्रलाई दिइयो । कसैले छिमेकीलाई दोष दिने कसैले अरु कसैलाई । आफ्नो सरकार आफैं बनाउने हैसियत नभएका जनताले देश बनाउने क्षमता कहाँ हुन्थ्यो ? सरकार बनेको तीन महिना नवित्तै सरकार ढाल्ने खेल शुरु हुने र नौ महिना नवित्तै अर्को सरकारको ताहुर माहुर सुरु हुने बानी नै पर्यो । अस्थीर सरकारलाई स्थायी सरकार मानिने कर्मचारीतन्त्रले केही महिना घुमाउने र विदा गर्ने प्रचलन जस्तै बन्यो । अर्कातिर आम नेपालीमा जनताको लागि सरकारले केही गदैंन, यो सतीले सरापेको देश हो, नेताहरु सबै चोर र भ्रष्टाचारी हुन्, यो देशमा बसेर केही गर्न सकिदैनजस्ता अत्यन्त नकारात्मक अवधारणा विकास भयो ।

त्यतिमात्र होईन, राजनीति भनेको कमाउ धन्दा हो, कसैले राम्रो काम गर्यो भने त्यसको खुट्टा नतानी आफू माथी पुग्न सकिंदैन, भ्रष्टाचार नगरी अकुत पैसा कमाउन सकिदैन र अकुत पैसा जम्मा नगरी राजनीति गर्न वा चुनाव जित्न सकिदैन भन्ने घातक सोचाईले नेपाली समाजमा डेरा जमाएका छन् । त्यस्तै देशभित्र श्रम गर्न जचाहने, एक अर्कामा चरम अविश्वास, विकसित देश र दातृ निकायको मुख ताक्ने अवाञ्छित प्रवृत्ति पनि विकास भएका छन् ।

गत आम निर्वाचनको मुखमा नेपाली कम्युनिष्टहरुको एकताबद्ध बन्ने चेतनाले पाँच बर्षे स्थीर सरकारको चाहना पूरा गरिदिएपछि अहिने परिस्थितिमा आमूल परिवर्तन आएको छ । राज्यको पुनर्सरचनामात्र भएको छैन,कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा रहेका कैयौं नीति र व्यवहारमा समेत आमूल परिवर्तन भएको छ । अब केवल ती परिवर्तनलाई बुझ्ने, आत्मसात गर्ने बानीमा आमूल परिवर्तनको खाँचो छ ।

सरकारले राम्रो काम गरेको भए पार्टीभित्र र बाहिरबाट किन विरोध भईरहेको छ त ? यसको उत्तर सहज छ –यो देशमा राम्रो काम गर्नेहरुकै सबभन्दा बढी विरोध भएको छ । राम्रो कामको प्रभावले आफ्नो राजनीतिको रोटी सेक्ने रापताप हराउने डरले यहाँ प्रायोजित विरोध हुदै आएका छन्, पछिसम्म हुने नै छन् ।

दुईतिहाई समर्थन प्राप्त सरकारलाई अप्ठ्यारोमा पार्न पार्टीभित्र हुदै गरेका चलखेल, एकता प्रक्रियामा सिर्जित अन्योल, कतिपय अन्तराष्टिय चासो हालसम्म अपरिवर्तित बानीका अभिव्यक्तिमात्र हुन् । जनताको असीम तागतबाट बनेको यो सरकारलाई बाँकी अवधि कसैले हल्लाउन नसक्ने अवस्थाबारे धेरै चर्चा गरिरहन परोइन । यो त वेरोकटोक अगाडि बढ्ने नै छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर प्रभावकारी काम गरिरहेको छ, देशभित्रै लाखौं रोजगारी सिर्जना भएको छ,पेट्रोलियम पदार्थ भित्राउन पाईपलाईन अन्तिम चरणमा छ, भ्रष्टाचारमा कमी आएको छ, वार्षिक वृद्धिदरमा एतिहासिक रुपमा बढोत्तरी भएको छ, अन्तराष्ट्रिय सम्बन्ध सुमधुर भएको छ, राष्ट्रव्यापी सानाठूला भौतिक पूर्वाधार विकास जारी छ, राज्यबाट जनताले हिजोभन्दा बढी सेवा सुविधा पाएका छन्, कहाली लाग्दो लोडसेडिेङको सदाको लागि अन्त्य भएको छ । राष्ट्रिय अखण्डता मजबुत भएको छ, यो सबै देख्ने कि नदेख्ने ?

कि यो “सतीले सरापेको देश” हुनाले यहाँ कुनै पनि राम्रो काम हुन सक्दैन, सबै नेता भ्रष्टाचारी,बदमास र राष्ट्रघाती हुन्, यहाँ कुनै पनि निर्णय स्वविवेकले हुदैनन्, विदेशीको ईशारामा हुन्छन् जस्ता कमलपित्ते तर्क गरेर किनारामा बसिरहने ?आफू नाङिगएर अरुले पातलो लुगा लाएकोमा कुरी कुरी गरिरहने ?

बर्षौंदेखि हामी नेपाली नकारात्मकताको शिकार भएका छौं । यसबाट बाहिर नआई नेपाल समृद्धिको नयाँ उचाईमा पुग्न सक्दैन । यसका लागि देश,सरकार, पार्टी, नेता र राजनीतिलाई बुझ्ने विगतको आम बानी फेरे पुग्छ ।

(लेखक गरिबी निवारण कोषका उपाध्यक्ष हुनुहुन्छ)

Loading...