मन्त्री मातृकाले मागे माफी, आफूलाई थप्पड हान्न आग्रह

काठमाडौं, २३ असार । तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे सरकारले गरेको निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका छन् ।

उनले यस सम्बन्धमा सबै कुराको जिम्मेवारी आफूले लिने बताउँदै यदि कसैलाई सन्तोष नै लिन पर्ने भए आफूलाई थप्पड हान्न पनि आग्रह गरेका छन् । उनले आफूलाई प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवहरुले डुबाएको पनि खुलासा गरेका छन् । आफूलाई गुमराहमा राखेर पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको दावी गरेका छन् । पछि पूर्वाधार नभएको थाहा पाएपछि यो निर्णय फिर्ता गर्नुपरेको उनको भनाई छ ।

मन्त्री यादवले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन नै गरी माफी मागेका हुन् । उनले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको पनि प्रष्ट पारेका छन् । उनले पूर्वाधार नभई निर्णय गरिएको र त्यो निर्णय गल्ती रहेको आफूले थाहा पाएर फेरि फिर्ता लिएको बताए ।

उनले भने, ‘पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सचिवहरुले मलाई भन्दै भनेनन् । तर म सबै जिम्मा लिन्छु । म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’

मन्त्री यादवले नेपालमा तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने पूर्वाधार नभएका कारण नै यो निर्णय गरेको दावी गर्दै माफी मागे पनि अर्का मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले भने नेपालमा प्रयाप्त पूर्वाधार रहेको दावी गरेका छन् । उनले अहिले सात वटा प्रदेश मध्ये कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमै तरकारी तथा फलफूलमा रहेको विषादी जाँच गर्ने प्रविधि रहेको बताएका छन् ।

Loading...