भाषण गरिरहेका नेतामाथि मञ्चमै हानियो थप्पड

काठमाडौं । भारतीय लोकसभाको चुनावको क्रममा नेताहरुमाथि आक्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा शुक्रबार गुजरातमा भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि मञ्चमै आक्रमण भएको छ ।

गुजारतको सुरेन्द्र नगरमा भएको चुनावी ¥यालीपछि आयोजित सभामा पटेलमाथि आक्रमण भएको हो । सभालाई सम्बोधन गरिरहेका पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा झापड हानेका हुन् । पटेल त्यतिबेला चौकीदार चोर रहेको प्रसङ्ग सुनाउँदै थिए । भारतीय लोकसभाको चुनाव नजिकिदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा आफ्नो नामका अगाडि चौकीदार राखेपछि विभिन्न व्यङ्ग्य तथा आलोचना भएका थिए । सो क्रममा उनका विपक्षी पार्टी र नेताहरुले चौकीदार चोर रहेको भन्दै आलोचना गर्ने गरेका छन् । सोही प्रसङ्ग निकालेर भाषण गरिरहेका पटेललाई आक्रोशित हुँदै मञ्चमा पुगेका एक व्यक्तिले झापड हानेपछि भारतीय मिडियामा यो समाचार निकै प्राथमिकता पाएको छ ।

गालामा एकाएक झापड खाएका पटेल एकछिन तर्सिए पनि लगत्तै आक्रमणकारीमाथि नै जाइलागेका थिए । त्यसपछि उनका समर्थकहरुले आक्रमणकारीलाई निकै कुटपिट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेता पटेललाई झापड हानेको भिडियो भारतमा भाइरल भइरहेको छ । भारतका सबैजसो सञ्चारमाध्यम र सामाजिक सञ्जालभरि उक्त भिडियो अहिले फैलिएको छ ।

यसअघि भारतीय जनता पार्टीका एक नेतामाथि पनि आक्रमण भएको थियो । दुई दिनअघि भाजपाको केन्द्रीय कार्यालयमा नेता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको थियो । राव भाजपाका प्रवक्ता समेत हुन् ।

भारतमा लोकसभाको चुनाव चलिरहेको छ । यो चुनावमा भाजपाले नरेन्द्र मोदीलाई अर्को कालका लागि प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ भने विपक्षी पार्टी कांग्रेसको नेतृत्वमा बनेको महागठबन्धनले मोदीमाथि चर्को प्रहार गरिरहेका छन् । मोदी कामभन्दा बढी हल्ला गर्ने नेताका रुपमा रहेको र हिन्दु धर्मको चर्को पक्षपोषण गरेको आरोप विपक्षीहरुले लगाउने गरेका छन् ।

Loading...