भेनेजुयलामा हस्तक्षेप गरिरहे ट्रम्पले रगतले लत्तपतिएको अवस्थामा ह्वाइट हाउस छोड्नुपर्ने मादुरोको चेतावनी

एजेन्सी । निर्वाचित राष्ट्रपतिलाई चुनौती दिँदै अमेरिकाले सडकबाट विपक्षी नेतालाई राष्ट्रपति घोषणा गर्न लगाएपछि ल्याटिन अमेरिकी देश भेनेजुयलाको राजनीति तातिएको छ । जनताको ठूलो मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका निकोलश मादुरो विरुद्ध अहिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरु भेनेजुयलामा संकट निम्त्याउन लागि परेका छन् ।

भेनेजुयलाको विपक्षी दलका नेता क्आन गुएडोले गएको जनवरी २३ मा राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् । अमेरिकाले मादुरोलाई सत्ता छोड्न अनेक दवाव दिइरहेको छ । तर, निर्वाचित राष्ट्रपति मादुरोले भने यसरी एउटा स्वाधीन राष्ट्रमाथि अमेरिकाले सिधा हस्तक्षेप गर्नु अन्तराष्ट्रिय कानुनकै उल्लंघन गरेको बताएका छन् ।

यसैबीच राष्ट्रपति मादुरोले भेनेजुयलाको आन्तरिक मामिलामा प्रवेश गरे अमेरिकाले भियतनाममा भोगेको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृहयुद्धको अवस्था आउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस्तो चेतावनी दिएका हुन । अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो । त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी रहेका थिए ।

राष्ट्रपति मादुरोले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी पनि दिएका छन् ।

मादुरोले ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, ‘रोक । रोक । डोनाल्ड ट्रम्प तिमिले गल्ती गर्दैछौ, तिमी आफ्नो हात रगतले लत्तपताउन खोज्दैछौ र राष्ट्रपतिको जिम्मेवारी मुक्त हुँदा रगतले लत्तपतिएको हुनेछौ ।’

उनले भनेका छन्, ‘एक अर्कालाई सम्मान गरौँ, नभए तिमीले ल्याटिन अमेरिकामा भियतनाम युद्ध निम्त्याउने छौ ।’

यता युरोपेली युनियनले पनि भेनेजुयलामा राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्न आह्वान गरेको थियो । त्यसका लागि इयुले आइतबारसम्मको समय दिएको थियो । राष्ट्रपति मादुरोले युरोपियन युनियनले दिएको उक्त अल्टिमेटम पनि स्वीकार्य नरहेको बताएका छन् ।

यस मामिलामा राष्ट्रपति मादुरोलाई रुस र चीन लगायतका देशको साथ रहेको छ । राष्ट्रपति मादुरोमाथि केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप विपक्षी दलले लगाएको छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको बताइन्छ ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । सपथ ग्रहण समारोहमा राष्ट्रपति मादुरोमाथि ड्रोनबाट समेत आक्रमण गरेर हत्या गर्ने प्रयास गरिएको थियो । सपथ ग्रहण समारोहमा भाषण गरिरहेका मादुरोमाथि एकाएक ड्रोनले आक्रमण गर्न थालेपछि राष्ट्रिय सेनाले उनलाई घेरा हालेर बचाएको थियो । त्यतिबेला केही सैनिकलाई गोली समेत लागेको थियो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी गरेका बेला राष्ट्रपति मादुरोको चेतावनीसहितको अन्तर्वार्ता प्रशारण भएको हो । स्पेनिस टेलिभिजन कार्यक्रम साल्भाडोसमा दिएको अन्तर्वार्ता स्थानीय समय अनुसार आइतबार प्रशारण भएको हो ।

अहिलेको अवस्थामा गृह युद्ध हुँदै हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको राष्ट्रपति मादुरोले बताए । उनले भनेका छन्, ‘सबैकुरा उत्तरी सत्ता (अमेरिका) र उसका पश्चिमा शक्तिको पागलपन तथा उग्रताको स्तरले निर्धारण गर्नेछ । गृह युद्धको सम्भावनालाई नकार्न सकिँदैन ।’

मादुरोले अघि भनेका छन्, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग आग्रह गरेका छौँ‘। र हामी हाम्रो देशको रक्षाका लागि तयार पनि छौँ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी प्रशारकसंस्सथा सिबिएससँग सैन्य शक्तिको प्रयोग एक विकल्प हुन सक्ने बताएका थिए । तर मादुरोले भने अमेरिकाले आफ्नो देशमा हस्तक्षेप गरेमा भियतनाम युद्धमा जस्तै हालत बेहोर्नु पर्ने चेतावनी दिएका हुन् ।

Loading...