अनसन तोड्न गोविन्द केसीलाई नेपाली कांग्रेसको आग्रह, अनसन तोडे मुद्दा आफूले बोक्ने कांग्रेसको भनाई

पोखरा, १८ माघ । नेपाली कांग्रेसले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । आफूसँग गरेको सहमति विपरित सरकारले चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याएको भन्दै आमरण अनसनमा बसेका केसीलाई नेपाली कांग्रेसले अनशन तोड्न आग्रह गर्दै अब उनले उठाएको मुद्दा पाटीले बोक्ने पनि बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पोखरामा पत्रकार सम्मेलनमा बोल्दै यस्तो जानकारी गराएका हुन् । नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले केसीका माग सम्बोधन नगर्ने पनि ठोकुवा गरे । साथै उनले डा. केसीका माग अब कांग्रेसले मात्र पूरा गर्ने पनि बताए । कांग्रेसको नेतृत्वमा सरकार बने उनका माग पूरा हुने उनको भनाई थियो ।

प्रवक्ता शर्माले भने, ‘हामीले तपाईलाई मुद्दा नै छोड्नुस् भनेको होइन । अनशन छोड्नुस भन्ने हाम्रो आग्रह हो । भविष्यमा बन्ने कांग्रेस सरकारले डा. केसीले उठाएका माग पूरा गर्छ ।’

शर्माले डा. केसीले उठाएका माग उनका मात्रै नभई समग्र जनताले उठाएका माग भएको दावी गरे । कांग्रेस जिम्मेवार प्रतिपक्षी भएको बताउँदै त्यसैले आफ्नो पार्टीले फरक ढंगबाट उनका माग सम्बोधन गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गरियोस् र उनको जीवन रक्षा होस् भन्दै कांग्रेस संसद अवरुद्ध गर्न बाध्य भएको शर्माले स्पष्ट पारे ।

‘डा.केसी अनशन बस्नुभाछ, उहाँको अनशनबाट सरकारले विधेयक परिर्वतन गरेन भने बुढा गइजालान् भनेर प्रतिपक्षीले त सोच्नु भएन’, उनले भने, ‘सरकारले संवादसम्म पनि गरेन भने कांग्रेसले दुईवटा कुरामा ख्याल गर्नुपर्छ । एउटा तपाईको मुद्दा जीवन्त छ, हामी साथमा छौँ भनेर आश्वास्त पार्ने । अर्को तपाईको स्वास्थ्य कमजोर छ, अनसन तोडौँ । तपाईँका मुद्दालाई हामी सँगसँगै लैजान्छौँ भन्ने ।’

चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ । डा. केसीको १६ औँ पटकको अनशनको शुक्रबार २४ दिन भएको छ ।

मार्सल लगाएर पारित गरिएको चिकित्सा विधेयक राष्ट्रहित विपरित भएको बताउँदै प्रवक्ता शर्माले संसदीय अभ्यासमा नेकपा सरकारले गलत अभ्यास गरेको आरोप लगाए ।

प्रधानमन्त्री वलीले आफूले गरेको गल्ती रियालाइज नगर्ने प्रवृत्ति भएका कारण समस्या आएको शर्माले बताए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेका गल्ति स्विकार गर्ने बानी बसिसकेकोले प्रधानमन्त्री वलीले आफ्ना आधा अध्यक्षसँग केही सिक्न सुझाव दिए ।

‘प्रचण्डले स्विकारेका दुई गल्ति छन्, एक सेना प्रकरणमा हात हाल्नु, अर्को गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु,’ उनले भने । बाँकी आधा अध्यक्ष वलीले प्रचण्डबाट गल्ति रियालाइज गर्न सिक्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो ।

सम्पन्न महासमिति बैठकबाट कांग्रेसले नयाँ योजनाका साथ आफूलाई रुपान्तरणको बाटोमा हिडाइसकेको समेत प्रवक्ता शर्माले सुनाए ।

Loading...