उत्तर काेरियाले दक्षिणकाे वार्ता प्रस्तावकाे अझै जवाफ दिएन

सोल, ३ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो । तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान क्युनले मङ्गलबार पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न दक्षिण कोरियाले प्रस्ताव राखेको थियो ।

उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न तथा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलालाई कमगर्ने विषयमा यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

प्रवक्ता क्युनले मङ्गलबार सोलस्थित रक्षा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– हामीले आगामी शुक्रबारका लागि नै वार्ता गर्न उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिक रुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ भने आएको छैन ।

यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।

रेडक्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको हो । उसको जवाफबमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता क्युनले बताए ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिने गरेको छ ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।

Loading...