कोलम्बो –श्रीीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले केही दिनअघि आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए ।
विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आउँदो सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् । खाद्य अभाव टार्नको लागि श्रीलङ्काले यसअघि नै वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका र प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गरिसकेको छ ।