पुस ३०,काठमाडौं ।
निर्वाचन आयोगले आज शुक्रबार सर्वदलीय बैठक आव्हान गरेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सबै दलहरुलाई ११ बजे बोलाएको हो ।
आउने माघ १२ हुने राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ ।
यसैगरी, स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी पनि निर्वाचन आयोगले गरेको छ ।
आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिनेसमेत बताउँदै आएको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले बैशाख १४ र २२ को मिति प्रस्ताव गरे पनि सरकारको निर्णय आउन सकेको छैन ।
संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐनमा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुँदैछ ।