मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द

दैलेख ः
मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ। कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो।

पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए।

मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ। तर मतगणनामा ७४८ मत भेटिएको छ। अर्थात् मतदानमा सहभागी प्रतिनिधि (मतदाता) भन्दा ३१ मत बढी खसेको हो।

अधिवेशनका अध्यक्ष मण्डलका सदस्य समेत रहेका एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहका अनुसार खसेको मतका आधारमा बनाइएको मुचुल्काभन्दा ३१ मत फर्जी खसेको पाइएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको बताए।

Loading...