मेयर शाक्यको प्रस्तावमा प्रधानमन्त्री ओलीले भन्नु भयो ‘ पानीको उपयोग नगर्नेले शुल्क र जरिमाना तिर्नु पर्दैन ’

काठमाडौँ । खानेपानी सेवा प्राप्त नगरेका काठमाडौँ उपत्यकाका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिमाना तिर्नु नपर्ने भएको छ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण आयोजनाको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै आज प्रधानमन्त्री केपी ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिमाना तिर्नु नपर्ने बताउनु भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्बोधनका क्रममा उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिमाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क–जरिमाना मिनाह गर्न कार्यक्रममा उपस्थित राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राख्नुभएको थियो । प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिमाना लिने गरेको कुरा सुन्दा अचम्म लागेको बताउनुभयो ।
उहाँले सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिमाना तिराउने कुरा सम्भव नहुने बताउनुभयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले आजको दिन काठमाडौँबासीका लागि उत्साह दिन भएको भन्दै यस्तो उत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

उहाँले अहिले पनि काठमाडौँ महानगरपालिकाले सडक बनाउँदै जाने र मेलम्ची खानेपानीले खन्दै जाने भएकाले धेरै बजेट खन्ने र पुर्नेमै खर्च भैरहेको स्मरण गराउनुभयो ।

Loading...