२०० वर्ष पुरानो रणवीरसिंह थापाको घर शिलखाना नभत्काउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

भदौ३१ , काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिका २१ वडा लगन स्थित रहेको मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को २०० बर्ष पुरानो पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ ।

जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले दायर गरेको रित माथि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रधान सेनापतिको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका २१ नम्बर वडा कार्यालयलाइ बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

सर्वोच्चले जारी गरेको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा सिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नु/राख्न लगाउनू’ भनिएको छ ।
सर्वोच्चले यो रिटमा आगामी ८ असोजका लागि पेशी तोकेको छ ।

काठमाडौँ महानगरपालिकाले सो स्थानमा ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रुपैयाँ लागतमा पार्क निर्माण गर्न लागेको हो। 
करिब चार रोपनी क्षेत्रफलमा फैलिएको सो स्थानमा पार्क निर्माणका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यले गत चैत ६ गते सिलान्यास समेत गरि सकेका छन्। २०७२ वैशाख १२ को भूकम्प अघिसम्म नेपाली सेनाले सिलखाना र पुराना  हतियार भण्डारण गर्ने कामका रूपमा प्रयोग गर्दै आएको सो घर भूकम्पले  पूर्ण क्षति भएको थियो।

Loading...