भुकम्प पीडित भएर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन ? मसान्तसम्म तपाईलाई माैका

काठमाडाैं । के तपाई भुकम्प पीडित भएर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन ? यदि यसो हो भने तपाईले चिन्ता मान्नु पर्दैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न कारणले सर्वेक्षणमा छुट भएर लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितकोलागि पुनः सर्वेक्षणका ब्यबस्था मिलाएको छ ।

 

भुकम्पबाट अति प्रभावित १४ जिल्लामा प्राधिकरणले इन्जिनियरलाई पुनः खटाएको छ । ती जिल्लामा ३३२ जना इन्जिनियरले शुक्रबारदेखि प्राधिकरणमा प्राप्त गुनासाका आधारमा शुक्रबारबाट सर्वेक्षण सुरु गरिसकेका छन् तर गुनासो फस्र्योट भएर लाभग्राही तथा प्रबलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

 

अझैसम्म गुनासो नै दर्ता नगराएकाको हकमा भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने बताईएको छ । उनीहरूको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरे  उनीहरूको समेत तत्काल सर्वेक्षण गर्न प्राधिकरणले इन्जिनियरहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले पुनः सर्वेक्षण भदौ मसान्तसम्ममा सम्पन्न गरिसक्ने बताएको छ । यसर्थ, यथासक्य छिटो वडा समिति र प्राधिकरणले इन्जिनियरहरूसंग संपर्क गरि लाभग्राही बन्ने अबसर नगुमाउन सुचित गरिन्छ ।

Loading...