आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) सिंगापुरमा आज देखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ।
विजयी सुरुवात गर्ने क्रममा सिंगापुरले पहिले ब्याटिंग गर्दै दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो। कतार ब्याट्सम्यान तमुर सजिदले सर्वाधिक ३४ मोहम्मद रिज्लानले अविजित ३३ रन बनाए।
सिंगापुर बलर जनक प्रकास ( ४-१-१५-३ ) र अमजद महबुब ( ४-०-३८-३ ) ले ३/३ विकेट लिए।
यस अघि इन्डियन एसोसीएसन मैदान सिंगापुरमा टस जितेर ब्याटिंग रोजेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो।
सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बाए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै टिम डेभिडले ३८ ( २९ बलमा ३ चौका १ छक्का ) , मनप्रित सिंहले ३४ ( १८ बलमा १ चौका र २ छक्का ) र रोहन रंगराजनले ३२ रन ( २० बलमा ३ चौका र २ छक्का ) बनाए।
कतार बलर इकबाल हुसेनले ४ विकेट ( ४-०-३३-४ ) र नौमन सर्वारले २ विकेट ( ४-०-३८-२ ) लिए।
आजै दोश्रो खेलमा कुवेत र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। नेपालले मंगलबार कतारसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल नेपाली समय विहान ७:१५ बजे सुरु हुनेछ। भोलिनै सिंगापुर र कुवेत दोश्रो खेलमा प्रतिस्पर्धा गर्नेछन्।