ललितपुरको पूर्णचण्डी मन्दिरमा लक्षाहुति यज्ञ गरिने

 

ललितपुरको गाःबहालस्थित प्राचीन पूर्णचण्डी मन्दिर प्राङ्गणमा श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ तथा देशमा शान्ति र कल्याणका कामनाका गर्दै आगामी चैत्र १० गते आइतबारदेखि १६ गते शनिबारसम्म हुने भएको छ ।
उपाकर्म गुठी ललितपुरअन्तर्गत श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ आयोजक समितिको आयोजनामा उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मणहरूको सक्रियतामा उक्त यज्ञ हुन लागिरहेको हो ।
ग्रहदोषका कारण काम नबन्ने, रोगव्याधिले सताउने, घरमा साथै समाजमा कलहको वातावरण भइराख्ने धार्मिक मान्यता हाम्रो समाजमा अद्यापि रहिआएको छ । यस्तो अवस्थामा शक्तिको उपासनाबाट रूप, जय, यशको साथमा चिताएको फल प्राप्त हुने धार्मिक मत छ । सोहीअनुसार देशमा शान्तिको वातावरण होस््, देशवासीको कल्याण हुनुका साथै सामाजिक सद््भाव, शान्ति कायम रहिरहोस्् भन्ने पवित्र उद्देश्यले यो यज्ञको आयोजना गर्न लागिएको हो ।
यस यज्ञबाट प्राप्त रकम उपाकर्म गुठी ललितपुरले प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीमा हुने भगवान्् नृसिंह जात्रा (उपाकलं सायाः)का लागि प्रयोग गरिने लक्ष्य राखेको छ । उपत्यकाका आदिवासी कौलिक देव ब्राह्मण (राजोपाध्याय वा देवभाजु) ले हिन्दु धर्मअनुसार उपाकर्म तथा श्रावणी कार्य सम्पादनका लागि उपाकर्म गुठीको व्यवस्था छ । यससँगै उपाकर्म गुठी ललितपुरले उपाकर्म संस्कारसँगै प्रत्येक वर्ष विश्व शान्तिको कामनाका साथ नृसिंह जात्रा (उपाकलं सायाः) निकाल्ने गर्दछ ।
नारायणको दशअवतारमध्ये चौथो नृसिंह अवतारको जात्रा नेपालको र सम्भवतः विश्वकै एकमात्र नृसिंह जात्रा हो । सामान्यतः नृसिंह अवतारलाई उग्र रूप मानिन्छ तर यस जात्रामा निकालिने नृसिंह भने शान्त स्वरूपको मानिन्छ । लिखित रूपमा यस जात्राको इतिहास कम्तीमा ३८८ वर्ष पुरानो रहेको आयोजक समितिले बताएको छ ।

यस किसिमका सांस्कृतिक कार्यक्रम र जात्राहरूको निरन्तरताका लागि ठूलै आर्थिक समस्या हुने गरेको पाइन्छ । राज्य तहबाट कुनै पनि सहयोग वा सुविधा नभई स्थानीयबाट नै थोरै आर्थिक सहयोगमा यो जात्रा हाल चल्दै आएको छ । गुठीको पनि आफ्नो कुनै नियमित आर्थिक श्रोत नभएको अवस्थामा जात्राको पालोवालालाई ठूलो आर्थिक भार पर्नाले यस जात्राको निरन्तरतामा समस्या देखिएको छ ।
यस ऐतिहासिक जात्रालाई भविष्यमा कुनै बाधा नआओस्् र निर्बाध सञ्चालन गर्न सकियोस्् भन्ने उद्देश्यले पनि श्री देवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ गर्न लागिएको हो । यस यज्ञबाट संकलन हुने रकमबाट नृसिंह जात्रा (उपाकलं सायाः)को दीगो व्यवस्थापनको लागि कोष खडा गरिनेछ ।
पवित्र कामनाको साथै ललितपुरको पहिचान नृसिंह जात्रा (उपाकलं सायाः)को दीगो व्यवस्थापनका लागि हुन लागेको यस यज्ञमा आम जन समुदायबाट सक्दो सहयोगको अपेक्षा रहेको छ । आर्थिक, भौतिक वा कुनै पनि किसिमका सहयोगको लागि आम जन समुदायलाई स्वागत छ । आयोजक समितिले साथमा ६ दिनसम्म संचालन हुने यस यज्ञमा सहभागिताको लागि पनि आम जन समुदाय, भक्तजनमा अपील गरेको छ ।

Loading...