प्रहरीको गोली लागि मरेका कुमार घैटेले दिएको पैसा माग्दा नदिएपछि गौचनको हत्या गरेको समिरमानको दावी

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याकाण्डबारे नयाँ खुलासा भएको छ । हत्या योजनाका मुख्य नाईके ३४ वर्षका समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ तथ्य खुलेको हो । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकमबारे उत्पन्न विवादले उनको हत्या भएको प्रहरीले जनाएकाे छ ।

सीआईबीका अनुसार मृतक गौचनले आफ्नो डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनेर गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार घैंटेमार्फत साढे २ करोड लिएका थिए । जसमध्ये एक करोड रूपैँया अाफ्नाे भएकाे समीरमानको दाबी छ । तर, घैंटेे ३ भदौ ०७२ मा प्रहरी कारबाहीमा मारिएपछि समीरमानले पूरै रकम माग गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

प्रहरीका अनुसार घैंटेको मृत्युपछि समीरमानले शरद गौचनसँग साढे २ करोड दाबी गरेर रकम फिर्ता गर्न वा शेयर दिन पटक-पटक आग्रह गरेको खुलेको छ । गौचनले यो नमानेपछि उनीहरुबीच विवाद उत्पन्न भयो, जसकारण गौचनको हत्या भयो ।

प्रहरीका अनुसार समीरमानले वीरगञ्ज विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम पनि मागेका थिए । तर, गौचनले नदिएकाले समीरमानकै योजनामा उनको हत्या भएको खुलेको छ । सीअाइबीले आइतवार पत्रकार सम्मेलनकाे अायाेजना गरी अभियुक्त समिरमानसँग लिइएको बयानकाे अडियो सार्वजनिक गर्यो ।

प्रहरीसँगकाे बयानमा अभियुक्त बस्नेतले भनेका छन्, “गौचन हत्या र दावा लामालाई गोली मेरो योजनामा भएको हो। सम्पूर्ण टिममा खटिने व्यवस्था लोप्साङ लामाले गरेको हो। मनोज पुनसँग दुर्गा तिवारीको हत्यापछि अलग भइसकेका छौं। हामीसँग छैन ऊ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समीरमानलाई शनिबार चितवनबाट पक्राउ गरेको हाे । समिरमानले राजधानीकाे नयाँ बानेश्वरको प्रयागमार्गमा गत असोज २३ गते व्यवसायी शरदकुमार गौचन र २०७३ साल पुस ४ गते रुपन्देही देवदह नगरपालिका खैरहनीमा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको जानकारी गराएकाे छ । त्यसैगरी उनले २०७३ चैत २९ गते राजधानीकै गुह्येश्वरी फाँटमा गुण्डा नार्इके दावा लामालाई गोली हानेको समेत बयानमा स्वीकार गरेका छन् । 

दुर्गा तिवारीकाे हत्यामा मनाेज पुन जाेडिएका थिए । समिरमान बस्नेत र तिनै मनोज पुन एउटै समूह बनाएर नेपालमा आपराधिक गतिविधि गर्दै अाएकाे यसअघि प्रहरीले जानकारी दिएकाे थियाे । तर समिरले भने आर्थिक विवादका कारण अहिले पुनसँगको सम्बन्ध टुटिसकेको प्रहरीलार्इ बताएका छन् । पुनलार्इ प्रहरीले अहिले पनि दुर्गा तिवारीको हत्या अभियोगमा खोजी गरिरहेकाे छ ।

समिरमानले विदेशमा बसेर अपराधिक गतिविधि गर्ने गर्दै अाएकाे प्रहरीकाे दावी छ । साथै उनले अाफ्ना अापराधिक गतिविधिलाई लुकाउन प्रहरीदेखि राजतिक दलसम्मको सेटिङ मिलाउने गरेको प्रहरीकाे दावी छ । उनले अाफ्ना गुन्डा संरक्षणका लागि नेटवर्क बनाउन प्रहरी, वकिलदेखि राजनीतिक दलका नेतासम्मकाे जालाे बनाएकाे र उनीहरु सबैमाथि अहिले अनुसन्धान भइरहेको सीअार्इबीले जनाएकाे छ ।

Loading...