कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी

 

काठमाडौँ। कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज उक्त औषधि अध्यादेश जारी गर्नु भएको हो । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयात सहजताका लागि कानुनि समस्या नहोस् भन्ने उदेश्यले सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको अध्यादेशसम्बन्धि विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।’

अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ ।

हाल संसद् अधिवेशन नभएको कारण सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भएकोले अध्यादेश मार्फत ल्याएको हो । यसरी जारी भएको अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

 

Loading...