जाजरकोटको स्याक्रीमा विषालु च्याउँ खाँदा एकैघरका ४ जनाको मृत्यु

सुर्खेत, १३ साउन । जाजरकोटको कुशे गाउँपालिकामा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । एक जनाको घरमै र ३ जनाको उपचारका लागि सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । 

कुशे गाउँपालिका वार्ड नं. १ स्याँक्रीका टेकबहादुर चलाउनेको घरमा यस्तो घटना भएको हो । विषालु च्याउको तरकारी खाएका उक्त घरमा ८ जना नै विरामी भएका थिए । त्यसमध्ये तीन वर्षीय छोरी अञ्जना चलाउनेको घरमै मृत्यु भएको थियो भने बाँकी तीनजना बालबालिकालाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।  

साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएपछि घरमुली टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा चलाउने, १३ वर्षीया छोरी धनसरा चलाउने र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको हो । 

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो । बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । घरमुली टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ ।

ढिलोगरी अस्पताल पुर्याइएकोले बचाउन नसकिएको पनि अस्पतालले जनाएको छ । च्याउको विषले धेरै असर गरिसकेको हुँदा उनीहरुको उपचारमा कठिनाइ भएको अस्पतालको भनाइ छ । 

Loading...