१८ पुरुषसँगै भिड्दै एक्ली महिला

खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो ।

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका हुन् ।

बजिमयसँगै काँग्रेस, नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका छन् ।

विभिन्न औपचारिक कार्यक्रममा महिलाको अधिकार र सहभागिताका पक्षमा चर्को भाषण गर्ने दलले निर्वाचनमा उठाउने क्रममा भने महिलालाई उपेक्षा गरेका छन् । निर्वाचनमा जिल्लाबाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि नौजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेस निकट महिला संगठनबाट २०३६ सालदेखि राजनीति शुरु गरेकी बजिमय महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्यलगायतको भूमिका निर्वाह गरिसकेकी छन । उम्मेदवारी हालेसँगै चुनावी अभियानमा होमिनुभएकी बजिमयको आगामी निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार विशाल भट्टराईसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा सदस्यमा बजिमयले टिकट पाए पनि प्रदेश सभामा कुनै पनि दलले महिला नेत्रीलाई दिएका छैनन् । दलको भरपर्दो खम्बाका रुपमा काम गरिरहेका बेलामा अवसर आउँदा भने पाखा लगाइएपछि महिला नेत्रीहरु असन्तुष्ट बनेका छन् ।

प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सबै राजनीतिक दलले आ–आफ्नो चुनावी अभियान शुरु गरिसकेका छन् । चुनावी अभियानमा होमिएका दलहरु अहिले गाउँ–गाउँमा पुगेर आफ्नो पक्षमा मतदाता तान्ने कसरतमा रहेका छन् ।

Loading...