सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला

        काठमाडौँ, १६ जेठ ।  लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे ।

तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ भन्ने पत्ता लगाउन ट्राफिक प्रहरीले गति मापन यन्त्र  ‘राडार गन’  प्रयाेग गरेकाे छ । अहिले उपत्यकाका विभिन्न ठाउँमा त्यही राडार गन मार्फत चेकिङ्ग बढाएको छ ।

लकडाउन सुरु भएदेखि हालसम्म काठमाडौँमा घटेका सडक दुर्घटना तीब्र गतिकै कारण भएकाे पाइएकोले सडकमा निगरानी बढाइएको महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताउनु भयो । प्रवक्ता श्रेष्ठले सडकमा गुडेका दुइ पाङ्ग्रे, चार पाङ्ग्रे सवारी साधनबाट चालक तथा अन्य सडक प्रयोग प्रयोगकर्ताको सुरक्षाको लागि नै यो निगरानी बढाइएको बताउनुभयाे ।

उहाँले भन्नुभयो ‘कोराना भाइरस संक्रमणका कारण हामी सबै नागरिक लकडाउनमा बसेको यो अवधिमा अति आवश्यक बाहेक घरबाहिर ननिस्किन सरकारले गरेको आग्रह सर्वबिदितै छ । तसर्थ हाल यो परिस्थतिमा सवारी पास पाएका सबैखाले सवारी साधनका चालकले सडकमा गुड्दा निकै होस् पुर्याउन जरुरी छ । सडक सुनसान र खुल्ला छ भन्दैमा गति धान्न्नै नसक्ने गरी चलाउँदा दुर्घटनाको सम्भावना पनि त्यतिकै धेरै हुन्छ ।’

महाशाखाले शुक्रबार तोकिएभन्दा बढी तीब्र गतिमा चलाइएका भक्तपुरमा ६२ र ललितपुरमा ३५ दुइ पाङ्ग्रे तथा चार पाङ्ग्रे गरी जम्मा ९७ सवारी साधनालाइ कारवाही गरेको छ । लकडाउनका कारण जरिवाना गर्दा पुनः सडकमा आवत जावत बढ्ने हुँदा यसरी तीब्र गतिमा चलाइएका सवारी साधन र चालकलाइ दुइ घण्टा होल्डमा राखी सम्झाई बुझाई पठाइने गरेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।     

Loading...