यसरी फैलिने रहेछ वास्तविकता कोरोनाभन्दा मनोवैज्ञानिक त्रासको भाइरस

कोरोना आर.डी.टी. पोजेटिभ देखिएपछि क्वारेइन्टाइनमा बस्दा रत्नकाजी महर्जनले भोगेका अनुभव – 

काठमाडौँ, ११ जेठ ।  विश्वभर फैलिएको कोरोना महामारीले अहिले समग्र मानव जीवन भयभित भएकाे छ । सर्वत्र त्रास छाएको छ । महामारी फैलिनबाट राेक्न गरिएको लकडाउनले मानिसको दैनिक जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएकाे छ । काेराेनाबाट सबैभन्दा बढी प्रभावित पश्चिमा मुलुकमा भने संक्रमण केही घट्दै गएकाे र लकडाउन खाेलेर मानिसहरुकाे दैनिक जीवन सामान्यतिर फर्किन थालेको  अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन्। कोरोना भाइरसबाट बच्न सामाजिक दुरी, लक्डाउन, होम क्वारेइन्टाइन आदि भन्दा अरु विकल्पका बारेमा मानिसले सोच्न थालेका छन । यो अवस्थामा अबको दिनमा के हुने हो ? भन्ने अनेकौ प्रश्न हाम्रा वरिपरि घुमिरहेका छन्।

यही सन्दर्भमा म आफै कोराेना संक्रमित श्रेणीमा परे । यसक्रममा भोगेका अनुभवलाइ सबैका सामु राख्ने अावश्यकता मैले ठानेकाे ठानेको छु। जेष्ठ महिनाको २ गते शुक्रबार मेरो टोल नजिक टेकुमा रहेको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागको कार्यालयमा सफाई कर्मचारी लगायतको द्रुत परिक्षण आर.डी.टी. परिक्षण गरिदै थियो। महानगरपालिका अन्तर्गत १२ वडा जनप्रतिनिधि सदस्य म आफै राहत बाँड्ने र अन्यकाममा प्रत्यक्ष सबैसँग सम्पर्क गरिरहेको हुँदा मेरो पनि परिक्षण गरिनुपर्नेमा जोड दिए । मभन्दा अगाडि एक महिला सहकर्मी सहितको आर.डी.टी. पोजिटिभ रिपोर्ट पुस्टि भइसकेको थियो। उनीहरु धेरैजसो निकै निरास र लाचार देखिएका थिए । महिला सहकर्मी भक्कानिदै राेए । त्यसपछि मेरो पनि परिक्षण गरियो। रिपोर्ट पोजिटिभ देखियो । त्यस समयमा त्यहाँ गरिएको २ सय ५० भन्दा बढी परिक्षणमा पोजिटिभ देखिएका मध्ये ३१ जनाको बारेमा व्यापक हल्ला फैलिसकेको थियो। महिला सहकर्मी रुदै थिइन त अरु निरास थिए । मरिने भइयो, अब के गर्ने ? भन्दै थिए सबैजना । यी र यस्तै कुरा गर्दै एक आपसमा अलाप विलाप चलिनैरहे । महानगरपालिकाले तत्काल क्वारेइन्टाइनको व्यवस्थापन गरे। प्राय सबैका फोन बज्न थाल्यो । अनलाइन समाचारमा यो विषय शिर्षस्थानमा रहयो। मैले मन थाम्न पर्ने ठाने । अरुलाई पनि सम्झाउँदै गए । वास्तवमा आरडीटी अन्तिम परिक्षण नभएको भन्दै सम्झाए । अरुहरुलाइ सम्झाइरहे पनि मनोवैज्ञानिक त्रासले म आफै पनि जकडिदै थिए । परिवारमा रुवावासी चल्यो । टोलछिमेक र मसँग राहत वितरण कार्यक्रममा सम्पर्कमा रहेका सबै भयभित भए । टोलै शील गरिने हल्लाले सन्नाटा छायो। महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबैलाई नआत्तिन भन्नुभयो।

शुक्रबार पहिलो दिन निकै कस्टपूर्ण समय बिताइएयाे । खानाका बक्साहरु आइपुगे तर खानाको स्वादमा कसैले ध्यान दिएन। दाेश्रो दिन क्वारेइन्टाइनमा मलाई भेट्न आएकाले निकै पर बसेर गरेको ब्यवहारले म र अरुमा झनै त्रास थपियाे । फोन निरन्तर बजिनैरह्याे । धेरै फाेन अाएपछि स्वीच अफ नै गरेँ। तर पनि मन शान्ति पाएन। फोन स्वीच अफ हुँदा पनि आफन्त परिवारजन झनै रुवावासी बढ्यो। केही उपाय लागेन । पुनः फोन अन गरेँ । फेरि लगातार उही प्रश्न सबैका फोनमा । जवाफ दिँदा दिँदा नजवाफ प्राय हामी सबैको अवस्था भइसकेको थियो। आइतबार पी.सी.आर. टेष्ट गरिने सूचना आयो । हामीमा उत्साह थपियो । प्राय सबैdf पी.सी.आर परिक्षण के होला भन्ने कौतुहलता बढ्दै थियो ।

अन्तमा हाम्राे पीसीअार परिक्षणकाे रिपाेर्ट नेगेटिभ अायाे । सबैको रिजल्ट निगेटिभ आएपछि एकाएक वातावरण फेरियाे । सबै हर्षित भए । हर्षित अनुहारमा परिवर्तित भएका सबै एक आपसमा बधाई साटासाट गर्यौ। परिवारमा यो खबरले खुसी ल्यायो। क्वारेन्टाइनको बसाईलाइ पूर्णबिराम दिएर घरतिर लागियो। घर टोलमा पुग्दा मानिसहरु कोही डराएका थिए । कोही अचम्मित देखिन्थे। मलाइ केही भएकाे थिएन तर परिवार, छरछिमेक मात्र हाेइन टाेल, काठमाडाैं जिल्ला नै तर्सिएकाे थियाे । मैले सबैभन्दा कष्टपूर्ण समय अारडीटी परिक्षणपछि पीसीअार परिक्षण नहुँदासम्मकाे अवस्थामा काटे । काेराेना संक्रमण नै भए पनि अाखिर मानिसले त्यसलाइ जितेकाे छ र जित्न सकिन्छ । उपचारपछि धेरैजसाे काेराेना संक्रमित निकाे पनि भएका छन । तर, सामाजिक मनाेविज्ञान कमजाेर भयाे भने त्याे निकै जटील हुनेरहेछ भन्ने अनुभूति यसपटक भयाे । 

घर पुग्दा छोरोले ढोकामै उभिएर बाटो हेरिरहेको मैले देखे । उसले सानो बक्सामा स्वास्थ्य सामग्री राखेको रहेछ । सँगै तातो पानी राखेकाे रहेछ । घर प्रवेश गर्न अगाडि तातो पानीले नुहाउन लगाइयो । भुइँतल्लामा छुट्टै कोठा तयारी अवस्थामा राखिएकाे थियो। क्रमश: परिवारले धेरै माया दियो । सँगैसँगै समाजकाे गाली पनि कम भयाे । यो खबरले खुसी भएका सबैका फोन आउने क्रम रोकिएकाे छैन । अहिले नेवार परम्पराअनुसार सगुन दिने उनीहरुको तयारी छ। तर जस्तोसुकै भए पनि कोरोना संक्रमणको वास्तविकता भन्दा मनोवैज्ञानिक त्रास समाजमा व्याप्त रहेको मैले कठाेर अनुभव गरे । धेरै प्रश्न अझै मेरो वरपर घुमिनै रहेका छन् ।  

के हो यो कोराेना ? कसरी बुझ्ने कोरनालाइ ? कोरोना संक्रमणभन्दा माथि उठेको समाज र संचार मध्यममा फैलिएको समाचारकै कारण त्रास त फैलाएको छैन ? विश्वमा कहिँ मानिस यस्तै गलत मनोवैज्ञानिक त्रासकाे सिकार त भएका छैनन ? राेगले भन्दा त्रासले धेरै मृत्युवरण भएको त होइन ? यी प्रश्नहरु मनमा खेलिनै रहेका छन् । म साेचिरहेकाे छु कि हाम्राे समाज एउटा सानाे परिक्षणमा त यसरी डराउँछ भने अमेरिका, इटाली, स्पेन, चीन जस्ता देशमा के भएकाे हाेला ? जहाँ एकैदिन दसाै हजार मानिसकाे भाइरसका कारण मृत्यु भयाे । लाखाै मानिस अहिले पनि संक्रमित छन् । अहिले पनि एकैदिनमा त्यहाँ हजाराैकाे संख्यामा नयाँ संक्रमण फैलिएकाे छ । वास्तावमा काेराेना हाेस वा अरु कुनै भाइरस वा महामारी, सँग लड्न मानसिक रुपमा बलियाे हुनैपर्छ ।

अन्तत: यो महमारीको अवस्थामा हामी सबै अनुशासित र कुनै पनि रोग लाग्नबाट सतर्क हुनु नै पर्छ । मैले मेरो वडामा क्वारेन्टाइन तयारी अवस्थामा हुनुपर्छ भनेका छौ । लकडाउन पछि दैनिकी कसरी संचालन गर्ने भन्ने बारेमा ब्यापक बहस हुनु जरुरी छ । युरोप अमेरिका लगायत कतिपय देशमा विस्तारै जनजीवन सामान्य हुँदै गएको संचार माध्यमबाट आइरहेका छन् । तसर्थ अबका दिनमा तपाई हामीले समाजमा कस्तो भूमिका खेल्ने भन्न बारे सोचौ ।

प्रस्तुति: बुद्धशरण शाही

Loading...