फैसला कार्यान्वयन तीव्र

रसुवा, २२ कात्तिक । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ अभियुक्तको लगत अध्यावधिक रहेकाले ती व्यक्तिको खोजी गर्दै फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ ।

जिल्ला अदालतको फैसलाबाट सजाय पाएकामध्ये ३५ ले जरिवाना तिर्नुपर्ने, कैदमा बस्नुपर्ने २१ र कैद तथा जरिवाना दुवै व्यहोर्नुपर्ने २३ समेत गरी ७९ फरार सूचीमा रहेका र फैसला कार्यान्वयनअन्तर्गत उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

असुल गर्नुपर्ने र फैसला बमोजिम ती अभियुक्तबाट रु छ करोड ५५ लाख वक्यौता बाँकी रहेको अदालतले जनाएको छ । सजाय तोकिएका अभियुक्तमा सप्तरी, ललितपुर, स्याङजा, सोलुखुम्बु, सुनसरी, नुवाकोट, धादिङ, सिन्ध्ुपाल्चोक, सर्लाही, चितवन र काठमाडौँ जिल्लासमेतका अभियुक्त रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिए।

यस्तै अदालतमा सम्बन्धबिच्छेदका १७, घरेलु हिंसाको एक र मानाचामल भराउने चार देवानी प्रकृतिका मुद्दा विचाराधीन रहेका बताइएको छ । फौजदारीतर्फ भने १७ मुद्दा फछ्र्योट गर्न बाँकी रहेका र छिटोछरितो न्याय सम्पादन गर्न प्रक्रियागतरूपले फैसला भइरहेको अदालतले जनाएको छ । अदालतमा रहेका ४९ मुद्दामध्ये देवानीतर्फका चार तथा फौजदारीतर्फका छ समेत १० मुद्दा चालू आर्थिक वर्षको पहिलो चौमासिकमै फछ्र्योट भइसकेका र फछ्र्योट प्रक्रियामा रहेका ३९ मध्ये गत आवका २२ मुद्दा सरेका तथा १७ मुद्दा भने यसै आवमा दायर भएका जनाइएको छ ।

Loading...