सत्तारुढ नेकपाका अर्का सांसद पनि पक्राउ पर्दै, सबैभन्दा बढी भोट ल्याउने सांसद गुरुङ ‘ज्यानमार्ने उद्योगमा’

काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का सांसद पनि पक्राउ पर्ने भएका छन् । केही दिन अघि आफ्नै मातहतकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महरा पक्राउ परेको केही दिन नबित्दै नेकपाका अर्का सांसद पनि अर्को मुद्दामा मुछिएका छन् ।

दोलखाबाट संघीय संसदका लागि देशभर सबैभन्दा बढी मत अन्तरले विजयी भएका सांसद पार्वत गुरुङ पक्राउ पर्ने भएका हुन् । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेको छ । काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसमक्ष तामेल गरेको छ ।

गुरुङमाथि महराकै जस्तो मुद्दा भने लागेको होइन । उनीमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागउको छ । त्यो पनि २०७४ मा भएको एक घटनामा उनी मुछिएका हुन् । २०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । सोही आक्रमणमा सांसद गुरुङ सम्लग्न रहेको पीडितले दावी गरेका छन् ।

पीडित खड्काले आफूमाथि सां‌सद गुरुङसमेतको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले काठममाडौं जिल्ला अदालतसमक्ष जानकारी गराएर पक्राउका लागि अनुमति मागेको थियो ।

सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गर्दै यो राजनीतिक प्रकृतिको मुद्दा भएको दावी गरेका छन् ।

Loading...