रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

स्टकहोम । यसवर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरूलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरूमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी गुडइनफ, अमेरिकाकै न्यूयोर्क विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक ७७ वर्षीय एम स्टान्ले ह्वीटिङ्घाम र जापानको मिजो विश्वविद्यालयका प्राध्यापक ७१ वर्षीय अकिरा योशिनो हुन ।

यी वैज्ञानिकको खोजले ऊर्जा भण्डारणका क्षेत्रमा नाटकीय परिवर्तन गरी कार, मोबाइल फोन तथा अरू धेरै किसिमका उपकरण चलाउन धेरै ठूलो सहयोग पुगेको समितिको ठहर छ ।

नोबेल पुरस्कार प्राप्त गर्ने प्राध्यापक गुडइनफ अहिलेसम्मकै सबैभन्दा बढी उमेरका व्यक्ति हुन । उनीहरूले गरेको अनुसन्धान र खोजले व्यावसायिक रिचार्जवेल ब्याट्री निर्माण र विकासमा आधार तयार गरेका छन् ।

सन् १९७० को दशकमा तेलको विश्वव्यापी सङ्कट उत्पन्न भएकै समयमा प्राध्यापक ह्वीटिङ्घामले जैविक इन्धनको विकल्पको खोजीका क्रममा लिथियम–आयन ब्याट्री निर्माण गर्न सकिने अवधारणाको खोजी थालेका थिए ।

रसायनशास्त्रतर्फ नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यो पुरस्कार आगामी डिसेम्बर १० का दिन स्वीडेनको स्टकहोममा प्रदान गरिनेछ ।

Loading...