चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरु र अन्य नेताहरु समेत विमानस्थलमै पुग्ने भएका छन् । यसले नेपालले चिनियाँ राष्ट्रपतिलाई उच्च सम्मान तथा प्राथमिकता दिने देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी भारतको भ्रमण सकेर चेन्नइबाट सिंधै काठमाडौं विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनलाई भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सीलाई असोज २४ मा भारतको तटीय शहर ममल्लिपुरममा स्वागत गर्ने कार्यक्रम छ । भारतमा एक दिन बसेर राष्ट्रपति सी नेपाल आउनेछन् ।

यसअघि चिनियाँ नेता देङ सियाओ पेङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए । चीनबाट २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य बनाउन नेपाल सरकारले तयारी तीब्र पारेको छ । यसपटक चिनियाँ राष्ट्रपति सीले एक रात काठमाडौको होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ । एक दिन नेपाल बसेर उनी फेरि चीन प्रस्थान गर्नेछन् ।

सीको नेपाल भ्रमणमा प्रस्तुत हुने परियोजनाको सूची तयार गर्न सम्वद्ध अधिकारी लागिपरेका छन् । नेपालमा रेल र पुर्वाधारका परियोजना अगाडि बढाउने तयारीमा सरकार छ । नेपाल भ्रमणको तयारी पनि तीव्र गतिमा भइरहेको छ ।

सीको नेपाल भ्रमण सुनिश्चितताको सन्देश लिएर यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू काठमाडौं आएका थिए । सीको सुरक्षाका लागि नेपाली सेनासँगै अन्य सुरक्षा निकायका गुप्तचर खटिसकेका छन् भने चिनियाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौंमा पुगिसकेको छ । सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहने भएको छ ।

देङ सियाओ पेङले सन् १९७८ मा र त्यसपछि चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा नेपालको दुईदिने भ्रमण गरेका थिए । त्यसपछि २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आएका थिए । तर, त्यसयता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेको थिएन । त्यहाँका राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आएनन् भने राष्ट्रपति सीले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण गरेका थिएनन् ।

Loading...