चार लाख राशीको मदन पुरस्कार पायो रणहार उपन्यासले, चार लाखकै अर्को पुरस्कार बैरागी काइलालाई

काठमाडौं, १ भदौ। नेपालको साहित्यिक क्षेत्रको सबैभन्दा ठूलो राशीको मदन पुरस्कार यस वर्ष योगेश राजले पाएका छन् । मदन पुरस्कार गुठीले आज गुठीले एक विज्ञप्ति जारी गर्दै योगेश राजको उपन्यास रणहारका लागि यस वर्षको मदन पुरस्कार दिएको घोषणा गरेको हो । यसैवर्ष गुठीले पुरस्कारको राशी पनि दोब्बर बनाएको छ ।

त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिइएको छ । तिलबिक्रम नेम्वाङ वास्तविक नाम रहेका बैरागी काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको बताइएको छ ।

यी दुबै पुरस्कारको राशी ४÷४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । यसअघि गुठीले मदन पुर‍स्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो । पुरस्कार असोज १२ गते वितरण गरिने बताइएको छ ।

गुठीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यस वर्ष गुठीमा प्राप्त भएका २५७ वटा पुस्तकमध्येबाट ७ पुस्तक ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘रणहार’ र ‘विचारको लाश’ मदन पुरस्कार २०७५ का लागि छनौटमा परेका थिए ।”

यस्ताे छ मदन पुरस्कार गुठीकाे विज्ञप्ति

Loading...