रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा

काठमाडौं, १९ साउन । रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा भएको छ । रसियन प्रधानमन्त्री दिमित्री मेदनेभले हालै अमेरिकाले लादेको आर्थिक नाकाबन्दीको विधेयक मस्कोका विरुद्ध गरिएको पूर्ण रुपको व्यापारिक युद्धको घोषणा भएको टिप्पणी गरेका छन् । अमेरिकी कांग्रेसले रसिया विरुद्ध अार्थिक नाकाबन्दी लगाउने निर्णयसँगै दुर्इ देशले व्यापारिक युद्ध सुरु भएकाे टिप्पणी गरेका हुन् ।

रुसका प्रधानमन्त्री दिमित्री मेदभेदवले अमेरिकी सदनले रसियाका विरुद्ध आर्थिक नाकाबन्दी लगाउने विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि अमेरिकासँगको सम्बन्ध सुधार हुने सम्भावना समाप्त भएको बताएका छन् । ट्रम्पको हस्ताक्षरसँगै अब अमेरिकासँग व्यापारिक युद्धको घोषणा भएको प्रधानमन्त्री दिमित्रीले जानकारी दिएका छन । प्रधानमन्त्री दिमित्रीले अमेरिकी राष्ट्रपति ट्रम्प शक्तिमा भएर पनि अराजक खेलाडी भएको टिप्पणी पनि गरेका छन् ।

साथै प्रम दिमित्रीले ट्रम्प प्रशासन निकै कच्चा भएको बताएका छन् । ट्रम्पले लज्जास्पद कार्यको हद नाघेर आफ्नो अधिकार कांग्रेसलाई सुम्पिएको पनि उनले टिप्पणी गरेका छन । अमेरिकन संस्थापनले ट्रम्पलाई नाङ्गेझार बनाउँदै नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गराएको उनकाे भनाइ थियाे ।

प्रधानमन्त्री दिमित्रीले ट्रम्पलाई शक्तिबाट निकाल्ने लक्ष्यका साथ अमेरिकन संस्थापनले खेलिरहेको बताएका छन् । केही समय अघि मात्र अमेरिकी कांग्रेसले रुसमाथि आर्थिक नाकाबन्दी लगाउने विधेयक पास गरेको थियो । ट्रम्पले भने कांग्रेसमा त्यसको विपक्षमा मतदान गरेका थिए । तर, कांग्रेसले पास गरेको उक्त विधेयकमा अन्तिममा आएर ट्रम्पले हस्ताक्षर गरेका छन् । उनले यो बाध्य भएर गरेको प्रतिक्रिया गरेका थिए ।

यसैबीच अमेरिकाको न्यूयोर्क सिटीका सिनेटर चुक स्कूमरले राष्ट्रपति ट्रम्पबाट हस्ताक्षरित गम्भीर प्रकारको उक्त विधेयकको कार्यान्वयन र कुनै पनि कारवाही जो युक्रेनको सम्मानमा हुन सकोस भन्ने कुरामा अमेरिकी कांग्रेसले सुक्ष्म दृष्टि राखेर गरेको दावी गरेका छन् ।

अमेरिकी कांग्रेसले सात वर्षसम्म छलफल गर्दा पनि हेल्थ केयर सम्बन्धी विधेयक भने पास गरेको छैन । तर, यो विधेयक भने ट्रम्पकै चाहना विपरित तीब्र गतिका साथ विधेयक पास गरेको छ । यसले चीन, रुस र उत्तर कोरियालाई झन नजिक बनाउन सहयोग पु¥याएको टिप्पणी भएकाे छ ।

कांग्रेसले पारित गरेको उक्त विधेयकमा ट्रम्पले बुधबार हस्ताक्षर गरेका थिए । विधेयकमा हस्ताक्षर गर्ने समयमा उनले आफू बाध्य भएर विधेयकमा हस्ताक्षर गरेको बताएका थिए । ट्रम्पले भनेका थिए, “समस्याहरु हुँदा हुँदै पनि राष्ट्रिय एकताको रक्षाका लागि मैले यो विधेयकमा हस्ताक्षर गर्दैछु । मेरो भावनाले अमेरिकी जनताको रुस र अमेरिकाबीचको सम्बन्ध सुधार होस भन्ने चाहनाको प्रतिनिधित्व गर्छ । यति हुँदा हुँदै पनि अमेरिका र रुसका बीच विश्वका अरु विषयहरुमा राम्रो सहकार्यको आशा राख्दछु । त्यसकारण नाकाबन्दीको यो विधेयक धेरै लामो समयसम्म रहने छैन ।”

विश्वका धेरै कुटनीतिज्ञ तथा विश्लेषकहरुले भने अमेरिका र रुसका बीच सम्बन्ध नजिक हुन सक्ने र विश्वका प्रमुख एजेण्डाहरुमा सहकार्य हुने सम्भावना पूरै अन्त्य भएको बताएका छन् ।

अमेरिकी कानुन व्यवसायीहरुले पनि यो विधेयक असंवैधानिक रहेको बताएका छन् । यो स्पष्ट रुपमा असंवैधानिक हुँदा हुँदै पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको भन्दै उनीहरुले आश्चर्य व्यक्त गरेका छन् । विधेयकमा रुससहित उत्तर कोरिया र इरानमाथि समेत आर्थिक नाकाबन्दी लगाउने कुरा उल्लेख छ । अन्तराष्ट्रिय कानुन अनुसार राष्ट्र संघमा भिटो प्राप्त कुनै राष्ट्रमाथि कुनै पनि देशले आर्थिक नाकाबन्द लगाउन नमिल्ने प्रावधान छ ।

यसअघि रुसले दुई जना अमेरिकन कुटनीतिज्ञको सम्पती जफत गरेको थियो । त्यसको प्रतिक्रिया स्वरुप अमेरिकाले न्यूयोर्कमा रहेको अमेरिकन दुतावासमा कर्मचारीको संख्याको सीमा तोकेको थियो । अमेरिकाले रसियन दुतावासमा ७ सय ५५ जना कर्मचारीभन्दा बढी राख्न नपाउने घोषणा गरेको थियो । क्रिमियालाई रुसले गाभेको विषय, युक्रेनमा सैनिक हस्तक्षेपको विषय र गत वर्षको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसले धाँधली गरेको लगायतका विषयमा दुई देश बीच विवाद चल्दै आएको थियो ।

यसैबीच उत्तर कोरियाले अमेरिकाले पास गरेकाे नाकावन्दीकाे विधेयकमाथि टिप्पणी गर्दै यो कुनै नयाँ कुरा नभएको बताएको छ ।

त्यसैगरी इरानले यो विधेयकले दुई देशबीचको आणविक वार्ता भङ्ग गरेको प्रतिक्रिया जनाएको छ । साथै इरानले अमेरिकाको यो कदमका विरुद्ध उचित ढंगले जस्ताको तस्तै जवाफ दिने प्रतिक्रिया जनाएको छ ।

Loading...